बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन प्रहरीले बुझायो: रविलाई ४ करोड १५ लाख बिगो दाबी
बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धानपछि प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशी र १४ अन्य व्यक्तिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
पुराना २८ जना र नयाँ १४ गरी कुल ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।
प्रतिवेदनलाई जिल्ला सहकारी वकिल कार्यालयले अनुसन्धान गरिरहेको छ ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा पोखराबाट बुटवलस्थित सरकारी वकिल कार्यालय लगेर रविको बयान गरिएको थियो ।
प्रहरी स्रोतका अनुसन्धान प्रतिवेदनमा रविको व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाको नाममा सामूहिक २ करोड १५ लाख २८ हजार रुपैयाँ गरी कुल ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो दाबी गरिएको छ । यस्तै, जोशीलाई व्यक्तिगत २ करोड ५० लाख र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी कुल ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी कुल ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी गरिएको छ । सुप्रिमका १,८३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
अहिले पूरक अभियोजनमा रविसहित ४४ प्रतिवादीलाई बनाइएको छ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबारमात्रै छुटेका छन् । पोखरामा लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । लामिछाने आइतबार अदालत उपस्थित हुने तयारीमा छन्।