सबैलाई प्लेनको टिकट नमिलेपछि गाडीमा काठमाडौंमा आइरहेका छन् रवि



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन पोखराबाट प्रस्थान गरेका छन् ।

हिजो कास्की जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा रहेकोले उनी पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं गएका हुन् ।

हवाई मार्गबाट यात्रा गर्ने भए पनि नेता तथा कार्यकर्ताको ठूलो समूहका कारण लामिछानेले स्थलमार्ग रोजेका हुन् ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका नेता कार्यकर्ताको समूह भएकाले उनले गाडीमै जाने निर्णय गरेका हुन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार कास्की अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै बिहीबार नै लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका थिए ।

रिहाइपछि लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराइ परिवारको जिम्मा लगाइएको थियो ।

लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुँदै छन् ।

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।

यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेक बहसपछि सात जना प्रतिवादीलाई तोकिएको धरौटी रकम बुझाएर रिहा गर्ने आदेश दिएको थियो ।

लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाल १५ लाख, आरती गुरूङ ५ लाख, कृष्णबहादुर गुरूङ १ लाख धरौटी बुझाउन आदेश दिएको छ ।

प्रतिवादी लीला पछाईंले बिहीबार धरौटी रकम बुझाउन नसक्दा हिरासतमै रहेकी छन् भने अन्य छुटेका छन् ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारी ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।


क्लिकमान्डु