भूकम्पले पूर्वमा ६ घरमा क्षति, ताप्लेजुङ र सिन्धुपाल्चोकमा प्रहरी कार्यालय चर्किए


विराटनगर । तिब्बत केन्द्रविन्दु बनाएर गएको भूकम्पले कोशी प्रदेशका हिमाली जिल्लामा असर पारेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङमा क्षति पुर्‍याएको छ । रामेछापका विभिन्न स्थानमा घरहरूमा क्षति पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म ६ वटा घर पूर्ण रूपमा भत्किएको र केही घरमा आंशिक क्षति पुगेको विवरण संकलन भएको छ।

ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण रूपमा भत्किएको छ भने सिद्धीचरण नगरपालिकाको चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशीमा हर्कबहादुर खत्रीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ङिमा शेर्पाको घर पूर्ण रूपमा भत्किएको छ।

संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भत्किएको छ भने ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, रामेछापमा एउटा गोठमा क्षति पुगेको छ भने सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।

प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्प आइरहँदा अताल्लिएर छतबाट हाम फालेको प्रहरीले जनाएको छ । दुवै खुट्टामा चोट लागेका उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको असरले बारामा ११ जना विद्यार्थी बेहोस भएका छन् । तर, हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।