नबिल एसएसईः उद्यमशीलतामा खोलेको अवसर र सिकाएको बाटो


काठमाडौं । कास्कीका ३१ वर्षीय मदन आचार्य सेनिटेसन इन्जिनियरिङ अध्ययन सकेर २ वर्ष नेपालमै काम गरे । बालाजु इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका उनी त्यसपछि विदेश लागे, राम्रो आम्दानी र सम्पन्न जीवनको आशामा ।

विदेशमा कमाइ राम्रै थियो । तर, उनलाई नेपालमै केही काम गरौं भन्ने हुटहुटी थियो । गाउँमा फर्केर कृषि गर्नुपर्छ भन्ने सोच उनमा पलायो । र सोच पुरा गर्न व्यवसायिकरुपमा अलैंची खेती सुरु गरे । यो २०७६ सालको कुरा हो । आचार्य अलैंची खेती गर्छन् । गाउँमै बाँझो रहेको ९० रोपनी जग्गामा अलैंची उब्जाउँछन् ।

सुरुसुरुमा अलैंची फलाउँथे तर गाउँगाउँ डुल्ने व्यापारीलाई बेच्थे । नेपालमा अलैंचीको संकलन केन्द्र झापा हो । देशमा उत्पादन भएको ८० प्रतिशत अलैंची निर्यात हुन्छ ।

कृषि व्यवसाय राम्रै चलिरहेकाले उनलाई खासै टेन्सन थिएन । उनको काममा प्रोफसनलिज्म (व्यवसायिकता) खासै थिएन । केही नयाँ र थप गरौं सोच उनमा थियो तर व्यवहारमा उतार्न सकिरहेका थिएनन् ।

अलैंची खेतीसँगै कृषि पर्यटन प्रबद्र्धन गरौं भन्ने सोच उनमा थियो । सोही क्रममा उनलाई नबिल एसएसई (स्कुल अफ सोसियल इन्टरप्रेनरसिप)मा सहभागी हुने मौका मिल्यो ।

‘कृषि कार्यमै लागिरहँदा सोही क्रममा अघिल्लो ब्याचका नबिल एसएसई फेलो बसन्त पहाडीसँग भेट भयो,’ आचार्य भन्छन्, ‘हामी दारी ग्याङका सदस्य हौं । चिनजानकै व्यक्ति हुनुहुन्छ ।’

पहाडीकै सुझाव अनुसार उनी नबिल एसएसई जोडिए । महिनामा ३ दिन र ६ महिनासम्म चलेको कक्षा र तालीमबाट उनलाई मार्केटिङदेखि व्यवस्थापनसम्मको ज्ञान मिल्यो । केही थप काम गर्न सकिन्छ भन्ने ऊर्जा मिल्यो, नेटवर्किङदेखि सबैकुरा जाने उनले ।

‘पहिला अनुमानका भरमा बिजनेस गरिन्थ्यो,’ आचार्य भन्छन्, ‘अहिले योजनाका साथ काम गर्न जानेको छु । व्यवसायिक कसरी बन्न सकिन्छ भन्ने शिक्षा पाएँ । हामीजस्तो युवाहरुलाई एसएसई निकै आवश्यक रहेछ ।’

अहिले उनी गाउँगाउँमा अलैंची खोज्न आउनेलाई बेच्दैनन् । सीधै झापा जान्छन्, ठूला व्यापारीसँग सम्झौता गर्छन् र बेच्छन् । उनले भने, ‘७-८ वर्षका लागि एकैपल्ट सम्झौता गरेको छु ।’

माछापुच्छ्रे गाउँपालिकाको कोलेली भन्ने गाउँ मर्दी हिमाल र खुमाई डाँडा जाने बाटोमा पर्छ । आचार्यसँगै अरु ६ जना मिलेर गरेको काम अहिले गाउँभर फैलिएको छ । गाउँमा झन्डै ५०० कृषक अलैंची खेती गर्छन् ।

मदन आचार्य

०००
मिलु थापा महिना सिर्जनशील (वुमेन्स क्रियसन) की संस्थापक हुन् । उमेरले उनी ६० वर्षकी भइन् । उनले २० वर्षदेखि यो संस्था चलाउँदै आएकी छन् । हाते कपडा, गहना, मिथिला पेन्टिङ, सजावटको सामाग्री उत्पादन गर्ने उनको लामिम्पाटमा आफ्नै शोरुम पनि छ ।

उनी हस्तकलाका सामाग्री उत्पादनमात्र गर्दिनन्, रोजागरी सिर्जना गरेकी छिन् र तालीम समेत दिन्छिन् । २० वर्ष अघिदेखि काम गरेकाले उनमा अनुभवको कमी थिएन । अनुभवले परिपक्व बने पनि उनमा आधुनिक सिपको कमी थियो ।

‘ममा अनुभव थियो तर सैद्धान्तिक ज्ञान थिएन । काम गरौं न भनेर यत्तिकै यत्तिकै सुरु गरिहालें,’ थापाले अनुभव सेयर गरिन्, ‘मसँग सर्टिफिकेट थिएन । अनुभव भए पनि प्राज्ञिक योग्यता थिएन ।’

मिलु थापा

केही गरौं न भनेर सोच्दा ह्यान्डिक्राफ्टको काम गर्न पुगेको भन्दै उनले शैक्षिक ज्ञानसहित डेटाबेस व्यवस्थापन, योजना आदि केही थाहा नभएको बताइन् ।

नबिल एसएसईमा सहभागी भइसकेपछि उनले बल्ल बुझिन् कि शैक्षिक ज्ञान पनि महत्त्वपूर्ण रहेछ भन्ने । ‘२० वर्षदेखि गरिरहेको काममा मसँग डेटाबेस, योजना, नेटवर्किङ र रणनीति भइदिएको भए अझ राम्रो हुने रहेछ,’ उनले भनिन्, ‘२० वर्षदेखि काम गरेकाले मलाई इन्टरप्राइज खडा गर्ने, बजारसम्म लैजाने र आफूलाई चिनाउने काम गरि नै रहेको थिएँ । एसएसईमा सहभागी भएपछि मलाई यस्तो लागिरहेको छ कि म अर्को स्तरमा जम्प गर्न सक्छु भन्ने लागिरहेको छ ।’

उनले ६ महिनाको कक्षा निकै नै फलदायी भएको बताइन् । ‘अझै थप काम गर्न सक्छु नयाँ उचाइमा पुर्याउन सक्छु भन्ने योजना बनाइरहेको छु,’ थापाले भनिन्, ‘आफूलाई कसरी प्रस्तुत गर्ने, कसरी सेलेबल बनाउने भन्ने कुरा जानको थिइनँ । मैले गरेको काम मलाई मात्र थाहा हुन्थ्यो । अरुले थाहा पाए भने लाज लाग्थ्यो कसैले केही सोधे पनि जवाफ दिन डर लाग्थ्यो ।’ अहिले त आफ्नो कामबारे अरुलाई पनि थाहा दिन आवश्यक छ भन्ने सिकिसकेको उनले बताइन् ।

‘अब त सामान बनाएर वा बेचेरमात्र छोड्दिनँ,’ उनले थपिन्, ‘मसँग शैक्षिक ज्ञान पनि भइदिएको भए त धेरै नै उन्नती हासिल गरिसकेको हुने रहेछु । अब त म गर्न सक्छु । ६० वर्षको उमेरले पनि थप काम गर्ने आँट गरिरहेको छु ।’

०००
इन्टर्नसाथीका संस्थापक कुनाल साह नबिल एसएसईको पहिलो ब्याचका सहभागी हुन् । साहले इन्टर्नसाथी भन्ने प्लेटफर्मलाई शोकेस गरेर एसएसईमा सहभागिता जनाएका थिए ।

कुनाल साह

‘६ महिनाको अवधिमा हरेक महिना ३-३ दिन कक्षा हुन्थ्यो,’ साहले भने, ‘सुरुवातदेखि नै व्यावासायिक योजना विकास, मार्केटिङ, अन्तर्वार्ता कसरी गर्ने, स्टोरी टेलिङ कसरी गर्ने भन्ने तालीमा पाएका थियौं ।’ प्रोजेक्ट आइडिया स्टेजमै प्रस्तुत गरेकाले कुनाललाई आइडियालाई कसरी व्यवहारमा उतार्ने र बिजेनस मोडल कसरी विकास गर्ने भन्ने ज्ञान पनि नबिल एसएसईबाटै मिल्यो । एसएसईकै सहयोगमा आडियालाई भ्यालिडेट गरेर अहिले उनले कम्पनी स्थापना गरेका छौं ।

२ वर्षअघि देखि नै एसएसईबाट सिकेका कुरा लागु गर्न थालेको बताउने कुनालसँग अहिले आफ्नै अफिस छ । उनको टिममा ६ जना सदस्य छन् । १ सयभन्दा बढी कम्पनीले इन्टर्नसाथीबाट सेवा लिइरहेका छन् । उनीहरुले इन्टर्नसाथीको सहायतामा कर्मचारी नियुक्त गर्छन् भने इन्टर्न साथकिा २० हजारभन्दा बढी सदस्य छन् ।

०००

२०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हालसम्म नबिल एसएसईको फेलोसिप कार्यक्रमबाट ५६ जनाले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् भने हाल जारी चौथो कोहोर्टमा २० फेलो सहभागी छन् । एसएसईबाट लाभ लिएर ४५ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

एसएसई फेलोसिपका लागि नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागसँग सहकार्य गरेको छ । सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ ।

यसैगरी ५१८ जनाले सर्टिफिकेट कोर्स लिएका छन् भने हालै २२६ जना नयाँ कोर्समा जोडिएका छन् । सर्टिफिकेट कोर्समार्फत् ७२ उद्यम स्थापित भएका छन् । सर्टिफिकेट कोर्स पार्टनरहरु विभिन्न ११ विद्यालय तथा कलेज रहेका छन् ।

सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको छ । नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने, र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

०००
नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमसँग सम्बन्धित तालिम प्रदान गरिसकेको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताउँछन् । ‘नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको छ,’ पौडेल भन्छन्, ‘नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको हो ।’

नबिल बैंकका सञ्चालक निर्वाण चौधरी सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराउँदै उनले फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने बताए ।

‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईंहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ । तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ,’ चौधरीले भने ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए । उनले ‘हामीले के गर्यौ ?’ भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको प्रतिक्रिया दिए ।

०००
यसैबीच नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ ।

फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् ।

सहभागीहरूले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडीबुटीबाट सौन्दर्य सामग्री उत्पादन र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन् । इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरु गरेका उद्यमीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम र इ-लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरूको लक्ष्य रहेको बैंकले जनाएको छ ।

बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो । साउनमा खुलेको सयौँ आवेदकहरूमध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरूलाई मात्र छनोट गरिएको हो ।