सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
किमाथांका । जिल्लामा यस वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ। सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।
यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले जानकारी दिए । पछिल्ला केहि वर्षयता उत्पादनमा निरन्तर कमी आएकोमा यस वर्ष भने वृद्धि भएको उनले बताए ।
‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भएपछि कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो। जिल्लामा गत वर्ष १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएको थियो भने यस वर्षको हालसम्म ३४ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ,’ प्रमुख यादवले भने ।
यस वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ।
परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग प्राप्त हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ।
उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ। सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ।