गोर्खा मिडिया नेटवर्कका अकाउन्टेन्टको बयान: सबै आर्थिक कारोबारमा रवि लामिछानेको हस्ताक्षर हुने गरेको थियो



काठमाडौं । गोर्खा मिडिया नेटवर्कका लेखापाल सञ्जय अधिकारले कम्पनीका सबै आर्थिक कारोबारमा रवि लामिछानेको हस्ताक्षर हुने गरेको खुलासा गरेका छन् ।

सन् २०७८ वैशाख १७ गतेदेखि गोर्खा मिडियाको लेखापालको जिम्मेवारी सम्हालेका अधिकारीले ग्लोबल आईएमई, नबिल बैंक, र सिभिल (हाल हिमालयन) बैंकमा खोलिएका गोर्खा मिडियाका खाताहरूमा लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका हुन् ।

अधिकारीका अनुसार, गोर्खा मिडियाको आर्थिक कारोबार रेकर्ड राख्ने जिम्मा जीबी ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडलाई दिइएको थियो । उक्त ग्रुपका लेखा अधिकृत रविना रिमालले सबै हिसाब-किताब राख्ने गरेको बयान पनि अधिकारीले दिएका छन् ।

अधिकारीका अनुसार, भेन्डरलाई रकम दिनुपर्ने, कर्मचारीलाई तलब खुवाउने, वा कम्पनी सञ्चालनका लागि आवश्यक सामानको सूची बनाएर उनले कुमारीपाटी इमेल पठाउँथे । त्यसपछि लेखा अधिकृत रिमालले आवश्यक कागजातहरूको जाँच गरी सञ्चालकहरूको स्वीकृति लिएर अधिकारीलाई चेक लिन बोलाउँथिन् ।

अधिकारीले बयानमा भने, ‘म कुमारीपाटी पुगेर चेक लिइन्थ्यो । गितेन्द्र बाबु राई भेटिएमा उहाँबाट दस्तखत गराइन्थ्यो । यदि उहाँ नभेटिएमा गोर्खा मिडियामा आएर खर्चका सम्बन्धमा तयार गरिएको भौचरमा गितेन्द्र बाबु राई, रवि लामिछाने, वा अपरेसन हेड पुष्पराज गिरीबाट स्वीकृति लिएपछि भुक्तानी भौचर अप्रूभ गराइन्थ्यो । त्यसपछि, अप्रूभ भएको भौचरका आधारमा चेक तयार गरी प्रबन्ध निर्देशक रवि लामिछानेबाट दस्तखत गराइन्थ्यो ।”


लेखापाल अधिकारीले जीबी ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडका लेखा अधिकृत रविना रिमालको सक्रिय भूमिका रहेको बताए । कम्पनीको भुक्तानीसँग सम्बन्धित रकमको रेकर्ड र सहकारी खाताहरूमा रकम जम्मा गर्ने काम पनि रिमालकै निगरानीमा हुने गरेको अधिकारीको भनाइ छ ।

भेन्डरलाई भर्पाइ गर्ने वा लोनको किस्ता तिर्ने काममा रजनी श्रेष्ठ, मदन केसी, सन्तोष ढकालजस्ता कर्मचारीहरूले पनि खाता सञ्चालनमा सहकार्य गर्ने गरेको अधिकारीले बयानमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु