फाइनल पुग्न सुदूरपश्चिम र जनकपुर भिड्दै, चितवन कर्णालीमा कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफयरको दुई खेल हुँदैछन् । प्रतियोगिताको शीर्ष स्थानमा पुगेको सुदूरपश्चिम रोयल्सले दोस्रो क्वालिफयर खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउने छ। पराजित हुने टोलीलाई फाइनल पुग्न अर्को मौका मिल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन् ।

बिहान ९ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै इलिमिनेटर राउन्डमा स्थान बनाउने योजनामा हुनेछन् । चितवन र कर्णाली प्रतियोगितामा ७ खेलमध्य ६ खेलमा जित निकाल्दै प्लेअफमा पुगेका थिए ।

आजको खेलमा जित निकाल्दै चितवन अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । प्रतियोगितामा दुई बलिया टोली जनकपुर र सुदूरपश्चिमलाई पराजित गरेको टोली चितवन सहज जितको अपेक्षामा हुनेछ ।

यता कर्णाली पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएको कर्णाली अघिल्लो चरणमा पुग्ने योजनामा छ ।

कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले कर्णालीको यात्रा लामो भएको बताएका छन् । चितवनलाई हराउँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने कर्णालीको योजना भएको बताए ।

‘कर्णाली याक्स लामो रेसमा जाने टोली हो । चितवनसँग राम्रो खेल प्रदर्शन गर्ने योजनमा छौं । यो कर्णालीका लागि एक राम्रो अवसर पनि हो । प्रतियोगितामा उपाधि जित्ने योजना बनाएको कर्णालीको बुधबार उत्कृष्ट प्रदर्शन देखिनेछ,’ मल्लले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले दिउँसो १ बजे जनकपुरसँग खेल्दैछ।

प्रतियोगितामा दुई बलिया टोली सहज जितको अपेक्षामा हुनेछन् । सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा जाने योजना भएको बताए । टिमको कम्बिनेसन बलियो भएका कारण क्वालिफायरमा बलियो प्रस्तुती दिने योजना भएको बताए ।

‘हाम्रो टिम बलियो छ । सबै कम्बिनेसन मिलेको छ । हालसम्म जस्तो प्रदर्शन गरेका छौं त्यसै अनुसार हामी मैदानमा उत्रने छौं । जनकपुर पनि बलियो टोली हो । टी–ट्वान्टी क्रिकेटमा कुनै सम्भावना हुँदैन । तर, हामी जित्ने कुरामा ढुक्क छौं,’ टमाटाले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

जनकपुरका प्रशिक्षक पुबुदु दशनायकेले पनि टिम उपाधि होडमा भएका कारण क्वालिफायरमा फरक तरिकाले देखिने बताए । लिग चरणमा भएको हारको बदला लिने मौका पनि भएको बताए ।

‘जनकपुरले प्रतियोगिताको पहिलो खेलमा जस्तो प्रदर्शन गरेको थियो त्यो भन्दा फरक हुनेछ । हामी उपाधिका लागि भिड्ने छौं । क्वालिफायर खेल फरक हुनेछ,’ पुबुदुले क्लिकमान्डुसँगको कुराकानीमा भने ।


क्लिकमान्डु