सुदूरपश्चिमले एनपीएल उपाधि जित्नेमा ढुक्क छन् प्रशिक्षक टमाटा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको हालसम्मको प्रदर्शनअनुसार सुदूरपश्चिम बलियो टोलीको रुपमा प्रस्तुत भएको छ । टिमले गरेको प्रदर्शनका आधारमा उपाधि होडमा बलियो मानिएको छ, सुदूरपश्चिम ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लिगका ७ खेलमध्ये ६ खेलमा जित निकाल्न सफल भयो । सुदूरपश्चिम अब बुधबार पहिलो क्वालिफयर खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ ।
सुदूरपश्चिमले लिग चरणको खेलमा जनकपुरमाथि ७२ रनको सहज जित निकालेको थियो । लिग चरणका सबै खेलमा आफ्नो बलियो पावरप्याक देखाएको सुदूरपश्चिमले क्वालिफायरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको छ ।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रन, पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ७२ रन, छठौं खेलमा पोखरा एभेन्जर्सलाई ५ रन र सातौं खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो । सुदूर चौथो खेलमा चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।
रोयल्सले ७ खेलमध्ये ५ खेलमा पहिले ब्याटिङ गर्दै जित निकालेको छ । तर, पहिले बलिङ गरेको दुई खेलमध्य एक खेलमा पराजित हुन पुगेको थियो । चितवनसँग पहिले बलिङ गर्दा चितवनसँग ३३ रनले पराजित भयो भने कर्णालीविरुद्ध ६ विकेटको जित निकाल्न सफल भयो ।
दिपेन्द्र सिंह ऐरी कप्तान रहेको टोलीमा सुदूरपश्चिमकै जगत टमाटा प्रशिक्षक छन् । सुदूरको यो कम्बिनेसन टिमका लागि लक्की साबित भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका रुपमा राम्रो सफलता हात पारेका प्रशिक्षक टमटा अहिले सुदूरपश्चिमलाई पनि उपाधि दिलाउने कुरामा विश्वस्त छन् ।
सुदूरपश्चिममा भएका नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा टिमले यो सफलता हात पार्न सहज भएको टमाटा बताउँछन् । क्लिकमान्डुसँगको कुराकानीमा टमाटाले विदेशी खेलाडीको प्रदर्शन पनि सन्तोषजनक भएकाले टिम सफल भएको र उपाधि जित्ने कुरामा आफू ढुक्क भएको बताए ।
‘हाम्रो टिमका नेपाली खेलाडीहरुले उच्चकोटीको प्रदर्शन गरे । टिमलाई जित दिलाउन सबै खेलाडीहरु लागि परेका छन् । अझ सुदूरपश्चिमका समर्थकको मायाले जित हासिल गर्न झनै ठूलो सहयोग पुगेको छ,’ प्रशिक्षक टमटाले क्लिकमान्डुसँग भने ।
नेपाली खेलाडीहरु विदेशी खेलाडीसँग छिटै भिज्न सक्नु पनि टिमको सफलताको एक आधार भएको टमटाले बताए । टिम ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो भएका सहज भएको उनको भनाइ छ ।
‘नेपाली खेलाडीहरु विदेशी खेलाडीहरुसँग चाँडै भिजे जुन आवश्यक पनि थियो । लामो समयसम्म एउटै टिममा रहेर खेलिरहेको जस्तो माहोल छ । हामीले सोही माहोल कायम राख्दै उपाधि जित्ने विश्वास लिएका छौं,’ टमाटाले भने ।
प्रतियोगितामा भोलिको खेलमा लागि आफू र खेलाडी तयार भएको टमाटाले बताए । दुबै टोली बलियो भएका कारण भोलिको खेल रोमाञ्चक हुने बताए ।
प्रतियोगिताको पाँच खेलमा सुरुवातमा ब्याटिङ गर्दा सुदूरपश्चिम जित निकाल्न सफल भएको थियो । भोलि पहिले बलिङ गर्नु परेमा पनि टिमले राम्रो खेल्ने बताए ।
‘पहिले बलिङ गर्नु परेपनि हाम्रो खेलमा केही परिवर्तन आउने देखिँदैन । हामी जसरी पहिलेका खेलमा प्रस्तुत भएका थियौं भोलि पनि सोही ऊर्जाका साथ प्रस्तुत हुनेछौं र उस्तै तरिकाको खेल्ने छौं,’ टमटा भन्छन्, ‘दुवै टोली बलियो छन् । यद्यपि टी–ट्वान्टी क्रिकेट हो, जे पनि हुन सक्छ । हामी जस्तो सुकै अवस्थामा पनि जित निकाल्न सक्षम छौं ।’
सुदूरपश्चिम र जनकपुरबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यो खेल जित्ने टोली सीधा फाइनलमा पुग्नेछ । पराजित टिमले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गरी फाइनल पुग्ने दोस्रो अवसर पाउनेछ ।