‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ ले थाल्यो काम, पूर्वबैंकर बज्राचार्य बने सीईओ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापना भएको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’मा पूर्वबैंकर रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

अध्यक्ष ढकालको नेतृत्वमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यसहित १० अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ स्थापना भएको थियो ।

कम्पनीको सीईओ नियुक्त भएका बज्राचार्य ग्लोबल आईएम, सनराइज लगायतका बैंकका प्रमुख कार्यकारी भइसकेका व्यक्ति हुन् ।

देशभरका ७७ वटै जिल्लाका उद्योगी व्यवसायिहरुको लगानी हुने गरि सामूहिक लगानी कोष स्थापना भएको हो ।

देशका ७७ वटा जिल्लामा १२० हाराहारी जिल्ला तथा नगर उद्योग वाणिज्य संघ छन् । ठूला पूर्वाधारका प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने उद्देश्यसहित सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा आबद्ध रहेका र नरहेका पनि उद्योगी व्यवसायिहरुको सामूहिक लगानी कोष महासंघका अध्यक्ष ढकालको नेतृत्वमा स्थापना भएको हो ।

ढकालले महासंघको ढोरपाटमा भएको कार्यसमिति बैठकबाट १० अर्ब रुपैयाँको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए ।

नयाँ स्थापित कम्पनीको संचालकमा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल संचालक छन्।

असार अन्तिम साता दर्ताको प्रकृयामा गएको कम्पनीको जारी पुँजी १० अर्ब छ भने १ अर्ब रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीको प्राथमिक सेयर जारी गरेर सर्वसाधारणको समेत लगानी जुटाइने योजना रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु