कर्णालीद्वारा सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य, जित्नै पर्ने दबाबमा याक्स



काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गर्न आएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि जिसान मक्सुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा चार चौका प्रहार गरे। विलियम बोसिस्टोले २४ बलमा १६ रन जोड्दा ओपनर बाबर हायातले ९ बलमा तीन चौका प्रहार गर्दै १३ रनको योगदान दिए ।

यस्तै, चान्डविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन थपे। तर, ओपनर रित गौतम, नन्दन यादव र विपिन शर्मा भने खाता नखोली आउट भए ।

सुदूरपश्चिम रोयल्सका हर्मित सिंह बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन मात्र खर्चेर तीन विकेट लिए । स्कट कुग्गेलेन र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिए भने सैब जैबले एक विकेट लिए ।

प्लेअफमा पुग्न कर्णालीलाई यो खेल जित्नैपर्ने दबाब छ । ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा रहेको कर्णालीको लागि यो निर्णायक खेल हो । यता, ६ खेलबाट १० अंक जोड्दै प्लेअफमा स्थान सुनिश्चित गरिसकेको सुदूरपश्चिम भने सहज स्थितिमा छ । कर्णाली पराजित भए त्यसको लाभ काठमाडौं गुर्खाजलाई पुग्ने छ ।

यो लिग चरणको अन्तिम खेल हो ।


क्लिकमान्डु