बैंकर्स संघको अध्यक्षमा सहमतिको प्रयास हुँदै, मान्लान् त उम्मेदवार ?
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटाउन भोलि बैठक बस्ने भएको छ । अध्यक्ष पदमा दुईजनाले उम्मेद्वारी दिएपछि सहमति जुटाउन प्रयास हुने भएको हो ।
संघका अध्यक्ष सुनिल केसी, पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगानासहित वरिष्ठ बैंकरहरुले दुबै उम्मेदवारलाई मनाएर सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा लागि परेका छन् । संघको अध्यक्ष पदका लागि अहिलेका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचलने उम्मेदवारी दिएका छन् ।
संघका एक पूर्वअध्यक्षले भोलि एकपल्ट अन्तिम प्रयास हुन लागेको क्लिकमान्डुलाई बताए ।
ती पूर्वअध्यक्षले भने, ‘उम्मेदवारलाई मिल्न आह्वान गर्नेछौं । अन्यथा हामी मतदान गर्न नआउने सोचमा छौं ।’
संघको अध्यक्ष पदका लागि १३ वर्षपछि दुईजनाको उम्मेदवारी परेको हो । विधानले अध्यक्षको चयन निर्वाचन प्रक्रियाबाट हुने भने पनि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने गरेका थिए । जसअनुसार सन्तोष कोइराला भावी अध्यक्ष चयन हुने थिए । तर, मनोनयन दर्ताका क्रममा प्रभु बैंकका सीईओ शेरचनले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
‘अधिकांश साथीहरु परम्परा जोगाइराख्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ, केही साथीहरु मात्रै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,’ अर्का पूर्वअध्यक्षले भने- ‘परम्परा हेर्दा अहिलेका उपाध्यक्ष सन्तोषजी स्वाभाविक अध्यक्षको दाबेदार हो । उहाँले सहर्ष छाडिदिनुभयो भने मात्रै अशोकजी सर्बसम्मत अध्यक्ष हुनुहुन्छ, दुईजनाबीच चुनाव गरेर अध्यक्ष छान्ने अवस्था आउन दिँदैनौं ।’
संघको ३८औं साधारण सभा आगामी पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।
शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन् ।