सहकारी ठगी प्रकरण: रविको म्याद आज पनि थपियो, स्वास्थोपचार गरी कागजात पेश गर्न आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन म्याद थप गरेको छ।

कास्की जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको हो ।

अदालतले लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचारका लागि आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या देखिएको भन्दै जाँच र उपचार गरेर त्यससँग सम्बन्धित कागजातको प्रतिलिपि पेस गर्न आदेश दिएको छ ।

अदालतले भनेको छ, ‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेसँगै पोखरा लगिएको थियो । यसबीचमा उनलाई भैरहवा, चितवन र काठमाडौं ल्याइएको छ । ति जिल्लामा रहेका विभिन्न सहकारीको रकम अपचनलको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ।


क्लिकमान्डु