एनएमबि बैंकलाई युएन वुमन डब्लुईपी अवार्ड



काठमाडौं । एनएमबि बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपी अवार्ड प्रदान गरेको छ ।

उक्त बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो । युएन वुमन र युएन ग्लोबल कम्प्याक्ट बाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ ।

एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्स जेन बैंकिङ लिडरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपी अन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो विशेष अवार्ड बैंकलाई प्रदान गरिएको बताइएको छ ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रुपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहान मिलेको पनि बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआएको छ ।


क्लिकमान्डु