सहकारी ठगी: रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी
काठमाडौं । वीरगञ्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको हो ।
वीरगञ्जको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो । सहकारीले ऐन विपरीत कार्यक्षेत्र बाहिरका व्यक्तिलाई ऋण प्रवाह गरी करिब ९२ करोड रुपैयाँ अपचलन गरेको आरोप छ।
प्रहरीको अनुसन्धान अनुसार सहकारीका सञ्चालक समूहले नेचर हब इन्टरनेसनल, नेचर नेष्ट प्रालि, स्प्रिङ वुड रियल स्टेटलगायत कम्पनीहरूलाई ठूलो रकम कर्जा प्रवाह गरेको छ । सहकारीका पूर्वसंरक्षक जीबी राईसहित छविलाल जोशी, तिर्थराज लामिछाने, विमला पौडेललगायतका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ।
रवि लामिछानेमाथि सहकारीको रकम आफ्नो स्वामित्वमा रहेको गोर्खा मिडियामा लगानी गरिएको आरोप छ । चेक अपचलन, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रवि लामिछाने गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए । उनीमाथि कास्की, रुपन्देही, काठमाडौं हुँदै हाल चितवनमा बयान भइरहेको छ । सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको र गोर्खा मिडियाको सञ्चालक भएकै कारण लामिछानेलाई अनावश्यक रूपमा फसाउन खोजिएको रास्वपाले आरोप लगाएको छ ।
पर्सा प्रहरीका अनुसार सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ । गत वर्ष नै दायर मुद्दामा संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान पुनः सुरु भएको हो ।