के तस्करीको सुनले धानेको छ नेपालको बजार ?



काठमाडौं । नेपालमा अहिले वैद्यरुपमा न्युनतम दैनिक २० किलो काँचो सुनको आपूर्ति भइरहेको छ । अझै बिहे ब्रतबन्धको समयमा यो माग बढेर दैनिक ६० किलोसम्म पुग्छ ।

सुन व्यवसायीहरुका अनुसार बिहे ब्रतवन्धबाहेक हाल उपलब्ध भइरहेको दैनिक न्युनतम २० किलोका दरले मासिकरुपमा (एक महिनालाई औषत २८ दिनमात्रै मान्दा) ५ सय ६० किलो सुन चाहिन्छ देशभरको बजारलाई चलायमान बनाउन ।

तर आधिकारिक च्यानलबाट मागको करिब २२ प्रतिशतको हाराहारीमा मात्रै सुन आपूर्ति हुँदै आएको छ । मागअनुसार सुन आपूर्ति नहुँदा पनि बजारमा सुनको अभाव सिर्जना भएको छैन ।

व्यवसायीहरुकै तथ्यांकलाई आधार बनाएर हिसाब गर्ने हो भने पनि चालु आर्थिक वर्षको चार महिना साउनदेखि कात्तिकसम्ममा २ हजार २ सय ४० किलो सुन आयात भएर देशभरको बजारमा खपत हुनुपर्ने हो ।

तर चार महिनाको अवधी (११२ दिन) मा वैद्यरुपमा नेपालमा १ सय ३३ किलो काँचो सुनमात्रै आयात भएको पाइएको छ । यो १ सय ३३ किलोलाई ४ महिनाको दैनिक रुपमा भाग लगाउँदा प्रतिदिन १ किलो १८ ग्राममात्रै मागको तुलनामा वैद्य बाटोबाट आपूर्ति भएको पाइएको हो ।

बजारको मागअनुसार आयात नहुँदा अपुग देखिएको दैनिक १८ किलो ८१ ग्राम काँचो सुन कुन च्यानलबाट भित्रिएर खपत भयो त्यो आफैमा शंकास्पद देखिन्छ ।

अर्थात मागअनुसार आपूर्ति नहुँदा १८ किलो ८१ ग्राम काँचो सुन दैनिकरुपमा अभाव भएको हो । तैपनि उपभोक्ताले बजारबाट चाहेकै परिमाणमा सहजरुपमा सुन किन्न पाइराखेका छन् ।

एक सुनचाँदी व्यवसायीका अनुसार भारतभन्दा नेपालमा मूल्य अन्तरका कारण मागअनुसार वैद्य बाटोबाट आपूर्ति नहुँदा तस्करी भएर आएको सुनले बजारको माग धानीरहेको छ ।

बैंकले वितरणका लागि ल्याउने वैद्य सुन पनि बिक्री हुन नसकेर थन्किएको अवस्थामा कुन च्यानलबाट आएको सुनले बजारको माग धानेको छ ? सहजै अनुमान गर्न सकिन्छ ।

सुनचाँदी व्यवसायीका अनुसार नेपाल-भारत सीमावर्ती बजारमा सुनको मूल्यमा ठूलो अन्तर हुँदा सुनको तस्करी बढेको हो । जसकारण औपचारिक च्यानलबाट सुनको आयात परिमाण घटेको हो र बजारको माग अवैद्य रुपमा भित्रिएको सुनले धानेको हो।

केही महिना अघिसम्म मलेसिया, हङकङ, चीन र दुवईलगायतका मुलुकबाट हवाई र स्थलमार्ग हुँदै सुनको अवैद्य तस्करी भइरहेको थियो । पछिल्लो समयमा यसमा भारत पनि जोडिएको ती व्यवसायीको भनाइ छ ।

नेपालमा हुने सुनको तस्करी भने यो पहिलो पटक होइन, जुनवेला बाइसे चौबीसे राज्य थियो । त्यो वेला पनि भोटबाट भारततर्फ सुनको तस्करी हुन्थ्यो । राणाकालिक समयमा पनि यो तस्करी निक्कै मौलायो । हुँदाहुँदै पछिल्लो समयमा राजनीतिक दलका ठूलठूला नेताको प्रत्यक्ष संलग्नतामा पनि अवैद्य सुनको बजार फैलिन थालेको छ ।

व्यवसायीका अनुसार नेपालको तुलनामा भारतबाट सुनको तयारी गहना ल्याउँदा प्रतितोला १६ हजार र ढिक्के (गोल्डवार) सुन ल्याउँदा २१ हजार सस्तो मूल्य पर्छ ।

ती व्यवसायीले भने,‘नेपालभन्दा भारतमा काँचो सुन निक्कै सस्तो भएकाले उताबाट अवैद्यरुपमा आएको सुनले अहिले नेपालको बजार धानेको छ ।’

उनका अनुसार नेपालभन्दा भारतमा सुन सस्तो भएकाले नेपालका बैंंकहरुले पनि महँगो मूल्य तिरेर वैद्यरुपमा मागअनुसार सुन भित्र्याउन चासो देखाएका छैनन् ।

‘वैद्यरुपमा सुन ल्याउँदा बजारमा बिक्री नहुने डरले बैंकहरुले पनि मागअनुसार पछिल्लो समयमा सुन आयात गर्न मानेका छैनन्,’ अर्का एक सुनचाँदी व्यवसायीले भने,‘मागअनुसार नै आपूर्ति हुने हो भने ४ महिनाको अवधीमा वैद्य बाटोमार्फत् कम्तिमा २ हजार २ सय ४० किलो सुन आउनुपर्ने थियो । तर १ सय ३३ किलोमात्रै आयात भएको छ ।’

मागअनुसार वैद्यबाटोमार्फत् सुन आयात नहुँदा अपुग भएको सुन तस्करी च्यानलबाट भारतबाट सस्तोमा ल्याएर व्यवसायीले वैद्य सुनकै मूल्य हाराहारीमा बजारमा बिक्री वितरण गर्दैआएको ती व्यवसायीले जानकारी दिए ।

‘भारतबाट अवैद्य सुन सस्तोमा ल्याएर व्यवसायीहरुले निक्कै बढी मार्जिन राखेर नेपालमा बिक्री गर्दैआएका छन्,’ ती व्यवसायीले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यकाअनुसार पछिल्लो समयमा सुनको माग घटेपनि अहिले पनि बजारमा ४० किलोकै हाराहारीमा खपत भइरहेको छ ।

तर सरकारले दैनिक २० किलोको दरले मात्रै उपलब्ध गराउँदै आएको छ । पहिले दैनिक माग ५० देखि ६० किलोको हाराहारीमा थियो ।

‘अहिले माग घटेर दैनिक ४० किलोको हाराहारीमा पुगेको छ, तर यो मागअनुसार पनि औपचारिकरुपमा सुन आयात भएको छैन, सरकारले अहिले २० किलोको दरले मात्रै उपलब्ध गराएको छ,’ क्लिकमान्डुसँग शाक्यले भने,‘सुनको उपलब्धता २० किलो मात्रै भएको अवस्थामा पनि देशभरको बजारमा सहज रुपमा सुनको कारोबार भएकै छ । मागअनुसार आपूर्ति नहुँदा पनि बजारमा कतै पनि सुनको हाहाकार भएको अवस्था आएको फेला परेको छैन ।’

मागअनुसार बजारमा वैद्यरुपमा सुन आयात नभए पनि बजारमा छ्यालबयाल रुपमा कसरी कारोबार भइरहेको छ भन्ने विषयमा उनले सोझो रुपमा जवाफ दिन चाहेनन् ।

‘सीमा क्षेत्र खुला छ, नेपालभन्दा भारतमा सुन निक्कै सस्तो छ, नेपाली सीमा क्षेत्रका बजारमा पछिल्लो समयमा दर्जनौंको संख्यामा ज्वेलरी पसल कसरी खुलेका छन् र कुन स्रोतबाट सुन ल्याएर बिक्री गरेका छन् ?,’ शाक्यले भने,‘मागअनुसार आयात नहुँदा पनि देशभरको बजार कसरी चलेको छ भन्ने विषयमा खोजिनीति गर्ने जिम्मेवारी सरकारको हो ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष माणिकरत्न शाक्यले अहिले दैनिक २० किलो काँचो सुनको कोटा भएपनि बैंकहरुले नियमितरुपमा आयात नगरेको जानकारी दिए ।

‘बैंकहरुले नियमितरुपमा काँचो सुन आयात गरेको पाइँदैन, कहिले आयात गर्छ । कहिले तीन महिनासम्म आयात गर्दैन, तर पनि नेपालको सुनको बजार मज्जैले चलेको देख्छु,’ शाक्यले भने,‘सीमा नाकामा कडाईका साथ अनुगमन नहुँदा पनि बजारमा अवैद्यरुपमा सुन र गहना भित्रिएको अनौपचारिकरुपमा विभिन्न च्यानलबाट जानकारी पाएका छौं । यो विषयमा हामीले संस्थागत रुपमा पटक पटक सरकारको ध्यानाकर्षण गराइसकेका छौं ।’

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधीमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँबराबरको १ सय ३३ किलो काँचो सुन नेपालमा भित्रिएको छ ।

यसमध्ये सबैभन्दा बढी टर्कीबाट १ अर्ब ४ करोड १६ लाख ६१ हजार रुपैयाँबराबरको १ सय किलो काँचो सुन आयात भएको छ भने दोश्रोमा युएईबाट ३८ करोड १७ लाख ९४ हजार रुपैयाँबराबरको ३२ किलो आयात भएको थियो ।

तेश्रोमा १५ लाख ८१ हजार रुपैयाँबराबरको १३४ ग्राम कतारबाट आएको थियो । यसपछि केहि ग्राम हङ्गकङ्ग, कुवेत, मलेसिया, माल्टालगायतका मुलुकबाट भित्रिएको छ ।

गत आर्थिक बर्ष २०८०/८१ को चार महिनाको अवधीमा भने ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँबराबरको १ हजार १ किलो काँचो सुन नेपालमा भित्रिएको थियो ।

गत वर्षको चार महिनामा भित्रिएको सुनको तथ्यांकलाई विश्लेषण गर्ने हो भने त्यो बेला पनि दैनिक ८ किलो ९३ ग्राम भाग परेको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा सबैभन्दा बढी काँचो सुन आयात भएको देखिन्छ। त्यो अवधीमा १४ अर्ब ९५ करोड ५० लाख ४२ हजार रुपैयाँबराबरको २ हजार १ सय ७८ किलो काँचो सुन आयात भएको थियो ।

अहिलेभन्दा कोभिडकालमा बढी आयात र खपत

उदेकलाग्दो तथ्य के छ भने कोभिड महामारी फैलिएको दुई आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को पहिलो चार महिनाको अवधीमा चालु आर्थिक बर्षको चार महिनाको तुलनामा अत्याधिक परिमाणमा काँचो सुन भित्रिएको थियो ।

सुनचाँदीका एक व्यवसायीका अनुसार कोभिडको समयमा सर्वसाधारणलाई खान र ज्यान जोगाउन कठिन भएको अवस्थामा पनि अहिलेको चार महिनाको तुलनामा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।

आर्थिक बर्ष २०७६/७७ को ४ महिनामा २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको ५ सय किलो र आर्थिक वर्ष २०७७/७८ को ४ महिनामा ३ अर्ब ६६ करोड १२ लाख ६१ हजार रुपैयाँबराबरको ५ सय किलो काँचो सुन आयात भएको थियो।

वार्षिकरुपमा हेर्ने हो भने पछिल्लो ५ आर्थिक वर्षमध्ये पनि कोभिड महामारीको अत्याधिक प्रभाव रहेको आर्थिक वर्ष २०७७/७८ मा निक्कै बढी परिमाणमा सुन आयात भएको देखिन्छ । त्यो वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९ सय २४ किलो सुन आयात भएको थियो । ५ वर्षमध्ये सबैभन्दा २०७८/७९ मा सबैभन्दा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।

कोभिडको महामारी संक्रमण सकिएलगत्तै बजार विस्तारै आफ्नो गतिमा लिन थालेपछि त्यो बर्ष सबैभन्दा बढी सुन नेपालमा भित्रिएको थियो ।

त्यो आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँबराबरको ५ हजार ५३ किलो काँचो सुन नेपालमा भित्रिएको थियो ।

भित्रिएको सुनमध्ये युएईबाट २८ अर्ब ९४ करोड ५७ लाख ६२ हजार रुपैयाँबराबरको ४ हजार ९१ किलो सुन भित्रिएको थियो । यस्तै ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँबराबरको टर्कीबाट ८ सय ६१ किलो र स्वीटजरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको १ सय किलो आयात भएको थियो ।

मागअनुसार आपूर्ति नहुँदा पनि तस्करी बढ्यो

महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार बजारमा अहिले पनि दैनिक माग ४० देखि ४१ किलोकै हाराहारीमा छ । तर सरकारले २० किलोबाट कोटा बढाएको छैन ।

‘पछिल्लो १० वर्ष यता सुनको माग बढे पनि २० किलोकै हाराहारीमा बैंकबाट सुन वितरण भइरहेको छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले भने, ‘बजारमा माग धेरै बढेपनि सरकारले २० किलोबाट कोटा बढाएको छैन ।’

अर्का एक सुनचाँदी व्यवसायीका अनुसार बजारमा दैनिक करिब ४१ किलो सुनको माग भएपनि वैद्य रुपमा २० किलोको दरले मात्रै आपूर्ति भइरहेको छ ।

‘बाँकी अपुग भएको करिब २० किलो सुन कुन स्रोतबाट कसरी बजारमा परिचालन भइरहेको छ, त्यो बिषयमा अध्ययन गर्ने जिम्मेवारी सरकारको हो,’ ती व्यवसायीले भने,‘अपुग सुन कुन स्रोतबाट आएर बजार धानेको छ भन्ने विषय नै अहिले शंकास्पद देखिएको हो ।’

संस्थापक अध्यक्ष शाक्यका अनुसार सरकारले २०६८ सालदेखि सुनमा कोटा प्रणाली लागू गरेको थियो । २०६८ सालअघि व्यवसायीहरुले चाहिएको परिमाणमै आफैं ढिक्के अर्थात् काँचो सुन आयात गर्दैआएका थिए ।

विदेश जानेहरु पनि झिटीगुन्टा नीतिअन्तर्गत ल्याएर आवश्यकताभन्दा बढी भएको हुन नेपालको बजारमा बिक्री गर्दैआएका थिए।

२०६८ सालदेखि सरकारले कोटा प्रणाली लागु गर्यो । जसअनुसार देशभित्रको मागअनुसार सरकारले बैंकमार्फत् आयात गर्ने र बजारको मागअनुसार व्यवसायीलाई उपलब्ध गराउने नीति कार्यान्वनयमा आयो ।

नेपाल राष्ट्र बैंकको यो नीतिअनुसार निजी क्षेत्रका बैंकहरुले तोकिएको कोटाअनुसार सुन आयात गरी बिक्री गर्न गर्दै आएका हुन्।

तत्कालिन समयमा प्रतिदिन १० किलोको कोटा थियो । यो सुनको कोटा निक्कै कम भएको व्यवसायीहरुको सुझाबको आधारमा त्यसको १ बर्षपछि १० किलोबाट बढाएर १५ किलो पुर्याइएको थियो । त्यसको २ बर्षपछि त्यसलाई बढाएर दैनिक २० किलो बितरण गर्ने नीति सरकारले कार्यान्वयनमा ल्याएको थियो ।

भारतीय नीतिका कारण पनि सुनको अवैद्य तस्करी

भारत सरकारले सुनचाँदीको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाएका कारण पनि नेपालमा अवैद्य सुन भित्रिने कारोबार पछिल्लो समयमा निक्कै फस्टाएको थियो ।

पहिले नेपालमा सस्तो र भारतमा सुन महँगो हुँदा नेपालबाट भारततर्फ अवैद्य रुपमा सुनको तस्करी भइरहेको थियो । अवैद्य रुपमा हुने सुनको तस्करीलाई नियन्त्रण गर्न भारत सरकारले भन्सार नीति परिवर्तन गरेको थियो ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले वित्त बर्ष २०२४/२५ को बजेटमार्फत सुन चाँदी आयात गर्दा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ६ प्रतिशत कायम गरेकी थिइन् । यसका साथै प्लेटेनियममा पनि भन्सार शुल्क घटाएर ६.४ प्रतिशतमा झारिएको थियो ।

भारतभन्दा नेपालमा भन्सार शुल्क महँगो भएका कारण नेपालमा सुन महँगो भएर अवैद्यरुपमा हुने तस्करीलाई प्रश्रय दिएको थियो ।

यसअघि सन् २०२२ मा भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर ७.५ प्रतिशतलाई वृद्धि गरी १२.५ प्रतिशतसम्म पुर्याएको थियो । यसले गर्दा नेपाली बजारमा सस्तो र भारतीय बजारमा महँगो हुँदा नेपालबाट भारततर्फ सुनको अवैद्यरुपमा सुनको तस्करी बढेको थियो।

पछिल्लो समयमा भारतीय वित्तमन्त्री सीतारमणले सुनको भन्सार दर घटाएपछि तुलनात्मक रुपमा नेपालभन्दा भारतमा सुन सस्तो भएको छ । यसले गर्दा नेपाली खरिदकर्ता पनि पछिल्लो समयमा भारतको सीमा क्षेत्रको बजारबाट तयारी सुनका गहना र ढिक्के सुन किन्न थालेका थिए ।

स्वदेशको ज्वेलरी पसल सुनसान भइरहँदा भारतीय सुनचाँदी बजार भने गुलजारमय बनेको थियो ।

‘नेपालमा सुन महँगो हुँदा पछिल्लो समयमा सीमा क्षेत्रका नेपालीले नेपालमै सुन र सुनको गरगहना किन्न छाडेका छन्,’ महासंघका उपाध्यक्ष शाक्यले भने,‘नेपाली उपभोक्ता प्रायः पारिपट्टीबाट सुन र गहना किन्ने गरेको अनौपचारिकरुपमा जानकारी पनि हामीलाई नआएको होइन ।’

उनका अनुसार भन्सार नीतिका कारण भारततर्फ सुन सस्तो भएर नेपाली सुनको बजार ओरालो बाटोतर्फ उन्मुख भइरहेको विषयमा महासंघले पटक-पटक अर्थमन्त्री, प्रधानमन्त्रीलगायतको ध्यानाकर्षण गराउँदै आएको थियो ।

बजारमा सुनको वैद्य स्रोत

वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार नेपालको बजारमा वैद्यरुपमा चार प्रकारको सुन परिचालन भइरहेको छ । पहिलो उपभोक्तासँग आवश्यकताभन्दा बढी भएको सुनको मूल्य बढेको समयमा पसलमा बिक्री गर्छन् ।

दोश्रो बिहे व्रतवन्धको समयमा बजारबाट अत्याधिक मूल्यमा खरिद गर्न सक्ने अवस्था नहुँदा घरकै पुरानो सुन गलाएर नयाँ गहना निर्माण हुनु ।

तेश्रो झिटीगुन्टा नीतिअन्तर्गत विदेशबाट पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म निःशुल्क ल्याउन पाउनु र चौथो सरकारले तोकेको कोटाअन्तर्गत बैंकले आयात गरी बजारम वितरण गर्ने हो ।

‘व्यवसायीले सरकारको नीतिअनुसार निक्कै कम परिमाणमा आफैंले तयारी गहना आयात गर्छन्, तर यो निक्कै नगण्य परिमाणमा आउँछ,’ संस्थापक अध्यक्ष शाक्यले भने, ‘यसबाहेक अन्य विभिन्न च्यानलबाट पनि नेपालमा सुन भित्रिएको हाम्रो बुझाई छ, तर यसको प्रमाण भेट्टाउन निक्कै कठिनाई छ ।’

सरकारले घटायो भन्सार शुल्क

सरकारले सुनमा लाग्ने भन्सार शुल्क घटाएको छ । सुनचाँदी व्यवसायीहरुले संस्थागत रुपमा भारतमा सुनको मूल्य निक्कै सस्तो हुँदा त्यसले नेपालको सुन बजारलाई प्रत्यक्ष रुपमा असर पुर्याएको र भारतको तुलनामा नेपालको सुनको मूल्य निक्कै महँगो हुँदा अवैद्य सुनको कारोबार बढेको भन्दै पटक पटक ध्यानाकर्षण गराएपछि सरकारले भन्सार शुल्क घटाएको हो ।

मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाउने निर्णय गरेको थियो ।

जसअनुसार यसअघि सुन आयात गर्दा लाग्दै आएको २० प्रतिशत भन्सार महसुललाई झारेर १० प्रतिशत कायम गरिएको थियो । यस्तै चाँदीमा लाग्दै आएको भन्सार दर पनि घटाएर १५ बाट १० प्रतिशतमा झारिएको छ ।

संगठनमा आवद्ध नभएका व्यवसायीले पनि बैंकबाट सुन किन्न पाउने
सर्वोच्च अदालतले कुनै संगठनमा आवद्ध नभएका व्यवसायीले पनि सोधै बैंकबाट खरिद गर्न पाउने आदेश जारी गरेको छ ।

सुनसँग सम्बन्धित व्यावसायिक संगठनमा नरहेकाहरुलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्ले अन्तरिम आदेश दिएको छ ।

रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले रिट निवेदन सुनुवाइ गर्दै कारणदेखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा दुबै पक्षलाई बोलाएको थियो ।

‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’ अन्तरिम आदेशमा भनिएको छ।

वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायीका तीन संगठनहरुलाई बिक्री गर्दै आएका छन् । ती संगठनले आफूहरुसँग आवद्ध व्यवसायीलाई मात्रै सुन बिक्री गर्दै आएका थिए ।


राजेश बर्मा