होटलबाट ६ जना विदेशी नागरिक पक्राउ


काठमाडौं । विराटनगरस्थित एक होटलबाट शनिबार प्रहरीले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

पर्यटक भिसामा नेपाल आएर गैरकानुनी रूपमा व्यावसायिक प्रशिक्षण सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

पक्राउ परेकाहरूले होटलभित्र ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए।

होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो। पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्।

उनीहरूसँगै प्रशिक्षणमा नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ।

पर्यटक भिसामा नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई कुनै पनि प्रकारको व्यवसाय, शिक्षण वा प्रशिक्षण दिने अनुमति हुँदैन। तर, पक्राउ परेका सिंगापुरका नागरिकले ‘लाफिङ बुद्ध’को विषयमा प्रशिक्षण दिएको एसपी कुटवालको भनाइ छ। राहदानी र भिसा जाँच गर्दा उद्देश्य विपरीतको कार्य गरेको देखिएको उनले बताए।

​पक्राउ परेका विदेशी नागरिकलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अध्यागमन ऐन अनुसार भिसा नियम उल्लंघन गर्ने विदेशीलाई जरिवानासहित निष्कासनसम्मको कारबाही हुनसक्छ।