क्रिकेटले बदल्दै नेपाली ‘बिजनेश मोडल’: यी हुन् विराटनगर किङ्समा १० करोड लगानी गर्ने व्यवसायी
विराटनगर । उद्योगी व्यवसायी भन्नासाथ उत्पादनमूलक उद्योगको सञ्चालन गर्ने वा आयातित सामग्रीको बिक्री गर्नेहरुलाई लिने गरिएको छ । तर अहिले अवस्थामा परिवर्तन आएको छ । भारतसहित विश्वका कतिपय मुलुकमा खेलकुद क्षेत्र ठूलो व्यवसाय बनिरहेको बेला त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको नेपाल प्रिमियर लिग(एनपीएल)त्यसको उदाहरण हो ।
८ फेन्चाइजी क्रिकेट टीममा यसअघि विभिन्न उद्योगहरुमा व्यस्त बन्ने व्यवसायीको प्रवेश भएको छ । विशुद्ध व्यक्तिगत, पारिवारिक, र समूहको मुनाफाका लागि उद्योग र व्यवसायमा अर्बौं लगानी गर्दै आएका सुनसरी–मोरङ औद्योगिक क्षेत्रका चार युवा उद्योगी यस पटकदेखि फ्रेन्चाइज क्रिकेटमार्फत खेल पर्यटन र खेल उद्योगमा आकर्षित भएका छन् ।
क्रिकेटको विकासका नाममा एक वर्षका लागि करिब १० करोड लगानी गरेका उनीहरूले व्यक्तिगत नाफालाई तिलाञ्जली दिएर गाउँगाउँमा क्रिकेटको विकास गर्ने, पूर्वाधार निर्माणका लागि सरकारलाई दबाब दिने, र राजनीति तथा विभिन्न समूहले विभक्त गरेको नेपाली समाजलाई क्रिकेटका माध्यमबाट एकतामा बाँध्ने उद्देश्य राखेका छन् ।
पहिलो चरणमा एक वर्षभित्र करिब १० करोड खर्च गरेर क्रिकेट खेलको विकासलाई निरन्तरता दिने उद्देश्यले उनीहरूले सिर्जना गरेको विराटनगर किङ्ग्स फ्रेन्चाइज क्रिकेट टिम काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टिममध्ये एक हो ।
यो फ्रेन्चाइज क्रिकेट टिममा विराटनगरका चार उद्योगी समूहले तयार पारेको म्याड स्पोर्ट्स (एमएडी), एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप, र देवनगरा ग्रुपको दुईदेखि चार प्रतिशत तलमाथि सामूहिक लगानी छ ।
यो अभियानमा नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एम्याचर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्धार, र बैंकटेश मुन्दाडा रहेका छन् । लुनिया अरिहन्त ग्रुप, प्याकुरेल एमएम ग्रुप, पोद्धार म्याजिक ग्रुप, र मुन्दाडा देवनगरा ग्रुपका सञ्चालक हुन् ।
यो समूहले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कप्तानीमा न्यूजिल्यान्डका पूर्वविस्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल, स्कटल्याण्डका क्रिस सोल, अफगानिस्तानका स्मात आलम, क्यानडाका निकोलस किर्तन, र ओमानका आकिव इलियाससहित नेपाली रैथाने खेलाडीलाई अक्सनमार्फत किनेर विराटनगर किङ्ग्स फ्रेन्चाइज टिम तयार पारेको हो । यो टोलीमा समावेश पाँच विदेशी खेलाडीको खरिद मूल्य न्यूनतम २० लाखदेखि ४० लाखसम्म परेको उनीहरूले बताएका छन् ।
‘उद्योग र विभिन्न व्यवसायमा लगानी गर्दा नितान्त व्यक्तिगत रूपमा मुनाफा कमाउँदै आएका थियौं । यसपटकदेखि फ्रेन्चाइज क्रिकेटमार्फत खेल पर्यटन र खेल उद्योगमा लगानी गरेर मुलुकको क्रिकेटको विकास गर्ने उद्देश्य लिएका छौं,’ लगानीकर्तामध्येका एमएम औद्योगिक समूहका सञ्चालक प्याकुरेलले क्लिकमान्डुसँग भने, ‘खेल पर्यटन र खेल उद्योगमार्फत गाउँगाउँमा क्रिकेटका पूर्वाधार बनाउन सरकारलाई घच्घच्याउन र राजनीति तथा केही समूहले विभाजन गरेको नेपाली समाजलाई एकतामा बाँध्न चार युवा उद्योगीले विराटनगरमा पहिलोपटक फ्रेन्चाइज क्रिकेटमा करिब १० करोड लगानी गरेका हौं।’
पछिल्लो समय क्रिकेटले नेपाललाई विश्वमा चिनाएको छ । क्रिकेटको विकासका लागि हरेक गाउँमा ४–५ कक्षामा पढ्ने बालबालिकालाई क्रिकेटमा आकर्षित गर्नुपर्ने उनले बताए ।
‘क्रिकेटका गुणस्तरीय खेलाडी उत्पादन भएर बलियो राष्ट्रिय टिम तयार हुन्छ । तब मात्र विश्व क्रिकेटमा नेपालको उपस्थिति अझै गर्विलो बन्छ,’ प्याकुरेलले भने ।
काठमाडौंको कीर्तिपुरमा सीमित रहेको नेपालको क्रिकेट खेल हरेक जिल्ला र गाउँमा पुग्नुपर्ने उनले बताए ।
‘हरेक जिल्ला र प्रदेशमा क्रिकेटका पूर्वाधार निर्माण हुनुपर्छ,’ प्याकुरेलले भने,’अब नेपाली क्रिकेटमा निजी क्षेत्रले प्रवेश गरेको छ । सरकारले अभिभावकको भूमिका खेले असम्भव भन्ने कुरा केही पनि हुँदैन ।’
निजी क्षेत्रले उद्योग र व्यवसाय सञ्चालन गर्दा हरेक पाइलामा सरकारको नीतिगत अल्झनको सामना गर्नुपरेको छ । क्रिकेट उद्योगमा पनि सरकारले र नेपाल क्रिकेट संघले नीतिगत अल्झन सिर्जना नगरे क्रिकेट विकास टाढा नभएको व्यवसायीको भनाइ छ ।
‘उद्योग र व्यवसायमा लगानी गरेर जस्तो नाफा कमाइन्छ, क्रिकेटको लगानीमा त्यस्तो नाफा छैन । त्यता हाम्रो ध्यान पनि छैन । क्रिकेटको विकास, पूर्वाधारको निर्माण, र खेलेर बाँच्न सक्ने खेलाडीलाई आधार बनोस् । खेलको माध्यमबाट विभाजित समाज एक होस् भन्ने कामना बाहेक आर्थिक लाभको आकांक्षा छैन,’ प्याकुरेलले थपे ।
प्याकुरेलले सरकार अभिभावकको रूपमा प्रस्तुत भएर हरेक कदममा नीतिगत अल्झनहरू नदिए उद्योगीहरू खेल क्षेत्रमा हरेक वर्ष लगानी गर्न तयार रहेको बताए ।
पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका व्यवसायी पारस लुनिया आफूले क्रिकेट खेल्ने समयमा एक खेलको २५ रुपैयाँ म्याच भत्ता पाएको स्मरण गरे । तर, आज अवस्था फेरिएको उनको भनाइ छ ।
‘मैले क्रिकेट खेल्दा एउटा खेलको लागि २५ रुपैयाँ म्याच भत्ता पाइन्थ्यो । त्यो भत्ताले कसरी गुजारा चलाएका थियौं भन्ने मलाई र मेरो पुस्ताका खेलाडीलाई मात्र थाहा छ,’ लुनियाले भने, ‘अहिलेको अवस्था केही फरक छ । तर, खेलाडीले खेल खेलेर बाँच्न सक्ने आधार निर्माण गर्न निजी क्षेत्र उत्साहित भएको छ । हामी गैरनाफामुखी क्षेत्रमा लगानी गर्दैछौं ।’
निजी क्षेत्र क्रिकेटको विकास, खेलाडी उत्पादन र उनीहरूको जीविकोपार्जनको आधार तयार गर्न क्रिकेटमा प्रवेश गरेको उनी बताउँछन् । ‘त्यसका लागि सरकारले अभिभावकको भूमिका निभाएर पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । खेलकुद क्षेत्रमा राजनीति हावी छ । राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘कम्तीमा पाँच वर्ष खेल खेलेका खेलाडीका लागि सरकारले निवृत्तिभत्ताको व्यवस्था गर्नुपर्छ । पाँच वर्षपछि ती खेलाडीले के खाने ?’
एनपीएलको उद्घाटन खेलमा शनिवार विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
एनपीएल बजेट
एक महिना चल्ने एनपीएल यतिबेला नेपालमा मात्र नभएर विश्वका क्रिकेटप्रेमीको नजरमा परेको छ । चर्चित भारतीय खेलाडी शिखर धवनदेखि विश्वका अन्यदेशका चर्चित खेलाडीहरु पनि अनुवन्धित भएकाले एनपीएल चर्चामा रहेको छ । विश्वभर क्रिकेट लगायतका खेलका प्रत्यक्ष प्रसारण गर्दै आएको स्टार स्पोर्ट्समा प्रसारण भएकाले पनि यसको व्यापकता भएको हो ।
एसोसिएट राष्ट्रहरुमा एनपीएल ठूलो प्रतियोगिता हुने खेलपण्डितहरुको दाबी छ। क्यान सचिव पारस खड्का विश्वका ठूला क्रिकेट लिगहरुमा एनपीएलमा पुर्याउने बताउँछन् ।
एनपीएल नेपाल क्रिकेट एशोसिएसन क्यानले आयोजना गरेको हो । झण्डै १ अर्ब रुपैयाँको बजेट लाग्ने आकलन गरिएको प्रतियोगिताका विजेताले नेपाली खेल इतिहासमै सबैभन्दा ठूलो रकमको पुरस्कार राशी पाउने छन् । विजेताले १ करोड ११ लाख पाउने छन् । उपविजेताले ५५ लाख पाउँदा तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।
क्यान आफैंले आयोजना गरेकाले त्यसको प्रत्यक्ष फाइदा भने उसलाई हुने छ र त्यो रकम क्रिकेटको विकासका लागि खर्च गरिने क्यान सचिव पारस खड्का बताउँछन् । ८ वटा फ्रेञ्चाइज क्लब बिक्रीबाट क्यानले करिब १७ करोड आम्दानी गरिसकेको छ । टिकट बिक्रीबाट प्राप्त हुने रकम पनि क्यानको आम्दानी हुने छ भने ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले झण्डै ६ करोड प्राप्त गरेको छ ।
आम्दानीको ५० प्रतिशत रकम भने क्यानले ८ वटा फ्रेञ्चाइज टोलीलाई बाँड्नेछ । टीम किन्नका लागि ८ फेन्चाइजले १ करोडदेखि साढे ३ करोड रुपैयाँसम्म खर्च गरेका छन् । ८ वटामध्ये सबैभन्दा सस्तोमा खरिद भएको टीम कर्णाली याक्स हो । जसले १ करोड ११ लाख लगानी गरेको छ भने महँगोमा किनिएको टीम पोखरा एभेन्जर्स हो । जसलाई किन्न ३ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो ।
सिद्धार्थ बैंकले एनपीएलको पाँच वर्ष मुख्य प्रायोजकका लागि क्यानसँग सम्झौता गरेको छ र एनपीएलको नाम सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग बनेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका क्यानका सचिव पारस खड्काले एनपीएल टिम किन्न १६ लगानीकर्ताले इच्छा देखाएको बताए ।
‘यो भनेको नेपाली क्रिकेटले प्राप्त गरेको ठूलो उपलब्धि हो । हामीले ६ वटा टोलीबाट सुरु गर्ने सोचेका थियौँ । तर हामीले यस्तो उत्साह देखेपछि ८ बनायौं। हामीले देशका सबै ठाउँलाई समेट्ने प्रयास पनि गरेका छौं’ उनले भने ।
८ वटा फ्रेन्चाइजको साथसाथै अर्को ८ वटा फ्रेन्चजीहरू पनि बाहिर भएको र उनीहरुले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज लिनको लागि र फ्रेन्चाइज टोलीसँग जोडिन रुची देखाएको उनले बताए ।
फ्रेन्चाइजमा मोडलमा एउटा टिमले कति खर्च गरेर आफूलाई टिकाउन सक्छ भन्नेबारे क्यानले खाका बनाएको र त्यो १० वर्षसम्मको रहेको खड्काको भनाइ छ । ‘१० वर्षको अवधिसम्म हरेक वर्ष गरेको लगानीको आम्दानी कसरी फिर्ता पाउँछ भनेर हामीले आकलन गरेका छौं,’ खड्काले भने ।