
काठमाडौं । मध्यपूर्वमा उत्पन्न तनाव र सुरक्षा चुनौतीका कारण अवरुद्ध भएको काठमाडौं–दुबई उडान नेपाल वायुसेवा निगमले १२ दिनपछि सञ्चालन गर्ने भएको छ ।
निगमले बुधबार विशेषा उडान गर्न लागेकाेले यात्रुलाई निगमबाट टिकटको प्रमाणीकरण गर्न आग्रह गरेको छ । निगमले २८ फेब्रुअरी (१६ फागुन)देखि ९ मार्च (२५ फागुन)सम्म रोकिएका यात्रुलाई सेवा दिन विशेष उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक सूचना जारी गर्दै मार्च ११ र १२ गतेका लागि काठमाडौं–दुबई दुईतर्फी विशेष उडानको तालिका सार्वजनिक गरेको हो ।
निगमका अनुसार यात्रुहरूको सहजताका लागि मार्च ११ मा राति ११:१५ बजे काठमाडौंबाट उडान हुनेछ भने मार्च १२ मा स्थानीय समय अनुसार बिहान ४:१० बजे दुबईबाट फर्कने उडान तय गरिएको छ । मध्यपूर्वमा बढ्दो असुरक्षाका कारण निगमले २८ फेब्रुअरीदेखि उडानहरू पूर्ण रूपमा रद्द गरेको थियो ।
निगमले गर्ने यस्तो उडानमा रोकिएका यात्रुलाई प्राथमिकता दिने भएको छ । त्यसका लागि उडान रद्द हुँदा २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई निगमले विशेष प्राथमिकतामा राखेको हो । ती यात्रुहरूमध्ये मार्च ११ मा यात्रा गर्न इच्छुक हुनेहरूलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ को आधारमा सिट उपलब्ध गराइने भएको छ ।
यसका लागि यात्रुहरूले आफ्नो टिकट निगमको तोकिएको इमेल ठेगानामा पठाएर पुनः प्रमाणीकरण गराउनुपर्नेछ ।प्रमाणीकरण गरिएका यात्रुहरूलाई मात्र विमानस्थल प्रस्थान गर्न निगमले निर्देशन दिएको छ ।
निगमले उडान सुचारु गरे पनि मध्यपूर्वको सुरक्षा चुनौती कायमै रहेको तर्फ ध्यानाकर्षण गराएको छ । सूचनामा भनिएको छ, ‘ मध्यपूर्वमा जारी असहज परिस्थिति र सुरक्षाको कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्नेछ । विषम परिस्थितिका कारण यात्रा अवरुद्ध भएमा निगमले थप कुनै आर्थिक तथा अन्य उत्तरदायित्व वहन गर्न असमर्थ रहने जानकारी गराउँदछौँ ।’








प्रतिक्रिया