सम्पूर्ण अपडेट

२ कम्पनीलाई १ करोड ३४ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडलाई आईपीओ निष्काशन गर्न विवरणपत्र स्वीकृत गरेको हो । बोर्डले फागुन २६ गते २ कम्पनीको आईपीओ निष्कासनको लागि विवरणपत्र स्वीकृत गरेको जनाएको छ ।

सानिगाड हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले जारी पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटललाई नियुक्त गरेको छ ।

यस्तै बोर्डले कालंगा हाइड्रो लिमिटेडलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न विवरणपत्र स्वीकृत गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोडको ३५ प्रतिशतले हुने ४९ करोड बराबरको साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।