विदेशमा जस्तै केही घण्टा काम गरेर भाटभटेनीमा हजार जनाले हप्तैपिच्छे बुझ्छन् तलब
घण्टाको कति पाउँछन् ?
काठमाडौं । देशकै ठूलो सुपरमार्केट चेन भाटभटेनीमा एक हजार युवाहरु घण्टाको हिसाबले काम गरेर हप्ताको हिसाबले तलब लिइरहेका छन् ।
गत साउनदेखि भाटभटेनीले प्रदान गरिरहेको यस्तो रोजगारी लिन चाहने युवाको संख्या बढिरहेको भाटभेटनीले जानकारी दिएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार हाल १ हजार युवा विद्यार्थीले रोजगारी प्राप्त गरिरहेका छन् । उनीहरुलाई भाटभटेनीले घण्टाको हिसाबले काम दिने र हप्ता बितेपछि भुक्तानी गर्ने गरेको छ।
पौडेल भन्छन्, ‘देशमा सञ्चालित २७ वटै स्टोरमा यसरी युवाहरुको सहभागिता छ । उहाँहरुले घण्टाको १०० रुपैयाँको दरले पारिश्रमिक पाइरहनु भएको छ ।’
अध्ययनरत ती युवाहरु आफ्नो खाली समय निकालेर पकेट खर्च जुटाइरहेको र सोचेअनुसार नै भइरहेको उनले बताए ।
‘बिहान कलेज हुने युवाहरु ३–४ बजेदेखि साँझमा काम गर्नुहुन्छ भने साँझमा पढ्नेहरु बिहानको समयमा काम गर्नुहुन्छ,’ उनले भने ।
युवालाई काम गर्ने बानी बसाउने र आर्थिकरुपमा सबल बनाउने योजनासहित भाटभटेनीले यस्तो कामको सुरुवात गरेको उनले बताए ।
युरोप अमेरिकामा भइरहेको घण्टाको हिसाबले काम दिएर हप्तैपिच्छे भुक्तानी गर्ने अभ्यासलाई नेपालमा कार्यान्वयनमा ल्याइएको हो ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार दिनको ४ घन्टा काम गरेर पढ्दै गरेको विद्यार्थीले मासिक १०–१२ हजार रुपैयाँ कमाउन सक्नेछन् । युवा विद्यार्थीको जीवनस्तर आर्थिक हिसाबले मात्र नभएर बानी र व्यवहारमा पनि परिवर्तन होस् भन्ने हेतुले यस्तो रोजगारी दिन खाजेको उनको भनाइ छ ।
‘युवाहरुमा काम गरेर खानुपर्छ भन्ने आदत बसोस्,’ उनले क्लिकमान्डुसँग भने, ‘अमेरिका युरोपमा बच्चाहरुलाई काम गरेर खान सिकाइन्छ । हामीले त सानैदेखि काम गरेका हौं । दाउरा घाँस गर्नुपर्थ्यो । गाई वस्तु चराउन जानु पर्थ्यो । केही काम नभए खाजा पुर्याउनुपर्थ्यो । अहिलेका युवा जतिबेला पनि मोबाइल झुन्डिने गर्छन् । त्यसैले भाटभटेनीले गर्न लागेको सुरुवात अनुत्पादक काम छाडेर, आर्थिक रुपमा सबल र सक्षम बनाउने सोच अनुसारको हो । कोही मान्छे खाली नबसौं । अनावश्यक आराम नगरौं, अनुत्पादक नबनौं ।’
यो स्किम २१ वर्षभन्दा कम उमेरका युवाका लागि हो ।
यो कार्यबाट राज्यलाई रोजगारी सिर्जनामा तथा अर्थतन्त्रलाई नागरिकको उपभोग क्षमता अभिवृद्धि, आर्थिक गतिविधि विस्तार र चलायनमान गरी सघाउ पुग्ने भाटभटेनीको दाबी छ ।
२०४१ सालमा ३५ हजार पुँजीबाट सुरु भएको भाटभटेनी अहिले वार्षिक ३०औं अर्बको कारोबार गर्ने देशकै ठूलो सुपरस्टोर बनससकेको छ । भाटभटेनीले अहिले ७ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।