क्रिप्टो कारोबार मुद्दामा पक्राउ परेका दुई चिनियाँ र एक फिलिपिनो नागरिक कारागार चलान
काठमाडौं । नेपालीहरूलाई प्रयोग गरेर कल सेन्टरको नाममा क्रिप्टो कारोबार गरेको अभियोगमा पक्राउ परेका दुई चिनियाँ नागरिक र एक फिलिपिनो नागरिकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
चिनियाँ नागरिक लिन क्वीनजिङ, डिङ जिहोङ र फिलिपिन्सकी महिला हानिपा सिन्सुएतलाई सोमबार ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उनीहरुसँगै उक्त कारोबारमा संलग्न हन्यलाई भने अदालतले धरौटीमा रिहा गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत भदौ २६ गते जावलाखेलबाट उनीहरुसहित ५० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीहरुले नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सी कारोबार गरिरहेको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।
यस क्रममा उनीहरुले भिजिट भिसामा दुबइ गएका नेपाली युवाहरुलाई पनि प्रयोग गरेको भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरुले चलाएको कल सेन्टरमा अनुसन्धान गर्दा त्यसको कनेक्सन दुबइमा रहेको भेटिएको थियो ।
प्रहरीले उनीहरुको कल सेन्टरबाट १ सय ९४ वटा मोबाइल, ५५ वटा कम्युटर, ४ वटा ल्यापटप पनि बरामद गरेको थियो । ती उपकरणहरूबाट प्राप्त विवरण अनुसन्धान गर्दा झन्डै १ अर्ब रुपैयाँको क्रिप्टो कारोबार गरेको भेटिको पनि प्रहरीले जनाएको छ ।