दाङमा तोरी उत्पादन बढ्दै
दाङ । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएका छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएका हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उनी बताउँछन् ।
‘बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु,’ उनले भने । घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उनी सुनाउँछन् । र १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेको पनि उनले बताए ।
यस्तै तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उनी बताउँछन् । घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफैं उत्पादन गर्दै आएको बताउँछन् । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उनले बताए । किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उनको अनुभव छ ।
जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको उनी बताउँछन् ।
गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उनको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उनले बताए । उनका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उनले बताए । यस वर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ ।
तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउँछन् । उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो ।