३ महिनामै टाटाको पन्च ईभी ५०० युनिट बिक्यो
काठमाडौं । सिप्रदी ट्रेडिङले पन्च ईभी ५०० युनिटभन्दा बढी डेलिभरी गरेको छ ।
चिनियाँ ईभीको क्रेजबीच भारतीय ब्राण्डको कार नेपालमा लोकप्रिय बनेको हो । कम्पनीले ३ महिनामा भएको यो बिक्रीलाई उत्साहजनक भनेको छ । नाडा अटो शोमार्फत सार्वजनिक भएको यो कार नेपाली बजारमा लोकप्रिय बनेको हो । गएको भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शो-२०२४ सम्पन्न भएको थियो ।
यो कारको ४७५ युनिट बुकिङ भएको थियो । कम्पनीले सबै जसो बुकिङ भएको कार डेलिभरी भइसकेको दाबी गरेको छ ।
नेपाली बजारमा चिनियाँ ब्राण्डहरु बाढी नै छ । सस्तो मूल्य र फिचरहरु धेरै भएका कारण नेपाली बजारमा लोकप्रिय बनेका हुन् । टाटा पन्च ईभी लोकप्रिय हुनुको मुख्य कारण यो सस्तो मूल्यमा पाइने भारतीय ब्राण्डको एसयुभी कार हो ।
सिप्रदी लिगेसी भएको व्यवसायिक घराना हो । यो घरानामा धेरै मानिसहरुको विश्वास छ । चिनियाँ ईभीको विकल्पमा मानिसहरुले यो ब्राण्डकका कारलाई मन पराएका छन् ।
चिनियाँ अधिकांश ब्राण्डहरु स्टार्टअप कम्पनीले सुरु गरेका छन् । नेपाल आयात भएका दुईवटा ब्राण्ड बन्द हुने अवस्थामा पुगेको छ । चिनियाँ ब्राण्डको कार किनेपछि पाट्सहरु नपाउने र भविष्यमा समस्या हुन सक्ने भन्दै विकल्प खोज्नेहरुले यो ब्राण्डका कारहरु मन पराएका छन् ।
नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन ।
उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको दाबी छ ।
एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको कम्पनीको भनाइ छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।
भारतमा लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिटभन्दा बढी बिक्री भइरहेको कम्पनीले जनाएको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित भएको छ ।
पन्च सर्ट रेन्ज (एसआर) सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।
लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।