त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल क्षमता नबढ्ने, १० घण्टा बन्द किन गरियो ?
१० घण्टा बन्द गरेर काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ महिनापछि नै उडान र अवतरण क्षमतामा ठूलो सुधार हुनेभन्दा पनि आगामी डेढ वर्षमा काम सम्पन्न भएपछि मात्रै एयर साइडमा सुधार हुनेछ । त्यसले विमानस्थलको उडान र अवतरण क्षमतामा सुधार गरे पनि समग्र विमानस्थलको क्षमता भने बढाउने छैन, कसरी ?
काठमाडौं । कुनै पनि विमानस्थलमा ३ वटा क्षेत्र हुन्छन् । ती हुन् पहिलो ल्यान्ड साइड, दोस्रो टर्मिनल साइड र तेस्रो एयर साइड।
विमानस्थल बाहिरको क्षेत्रलाई ल्यान्ड साइड, टर्मिनल भवन क्षेत्रलाई टर्मिनल साइड र एप्रोन, ह्याङ्गर, ट्याक्सी वे, धावनमार्ग, पेरिमिटर रोड लगायतका क्षेत्रलाई एयर साइड मानिने गर्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) जारी गरेको एनेक्स १४ मा विमानस्थलभित्रका पूर्वाधार कस्तो हुनु पर्ने भन्ने उल्लेख छ ।
आइकाओले जारी गरेको एनेक्स १४ का आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सिभिल एभियस रिक्यारमेन्ट (कार) १४ जारी गरेको छ । जसमा पनि विमानस्थलका पूर्वाधार कस्तो हुनु पर्ने उल्लेख छ ।
आइकाओले जारी गरेको एनेक्स १४ र प्राधिकरण आफैँले जारी गरेको कार १४ अनुसार हुनु पर्ने न्यूनतम पूर्वाधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छैनन् । यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एयरोड्रोम रेफरेन्स कोड ४ इ तहको विमानस्थल मानिने गर्छ ।
एयरोड्रोम रेफरेन्स कोड ४ इ तहको विमानस्थलमा धावनमार्गको बीच भागबाट ट्याक्सीको बीच भागको दूरी, धावनमार्गबाट पेरिमिटर सडकको दूरी, विमानस्थल भित्रको ह्याङ्गर एप्रोन तथा एप्रोन सम्बन्धी मापदण्डका निश्चित मापदण्ड तोकिएका छन् । जुन प्राय मापदण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पूरा गर्दैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार ३ सय ५० मिटर र चौडाइ ४५ मिटर छ । यस्तै, दुवै तर्फ साढे ७ मिटर सोल्डर सहित धावन मार्गको कुल चौडाइ ६० मिटर र ट्याक्सीको चौडाइ २३ मिटर छ । जुन मापदण्डअनुसार छ । यद्यपि, रनवे र ट्याक्सीको दूरी, रनवेबाट पेरिमिटर सडकको दूरी, विमानस्थलको चारैतर्फ अनिवार्य पेरिमिटर सडक बन्नु पर्ने मापदण्डका बाध्यकारी व्यवस्था कार्यान्वयन भएको छैन ।
प्राधिकरणले सन् २०१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मापदण्डअनुसार विस्तार गर्न गुरुयोजना बनाएको थियो । जुन, गुरुयोजनालाई सन् २०१६ मा अपडेट गरिएको थियो । प्राधिकरणको गुरु योजनामा ल्यान्ड साइड, टर्मिनल साइड तथा एयर साइड बिस्तारको रणनीति समेटिएको छ । तर,प्राधिकरण हाल एयर साइड विस्तारको काम मात्रै गरिरहेको छ । त्यो पनि निकै सुस्त गतिमा ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ वटा चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छानिएका निर्माण व्यवसायीले ट्याक्सी वे र एप्रोनको काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार विमानस्थलमा एभिक इन्टरनेसनलले अन्तर्राष्ट्रिय उडान र अवतरणका लागी नयाँ एप्रोन निर्माण गरिरहेको छ ।
सन् २०२० मा करिब करिब ७ अर्ब रुपैयाँमा एप्रोन निर्माणको ठेक्का लागे पनि कोरोना महामारी लगायतका कारणले समयमा काम नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ३ वर्षमा निर्माण सम्पन्न हुने गरी लागेको ठेक्काको पछिल्लो म्याद २०२५ जुलाइमा समाप्त हुदैछ ।
तर, त्यस अवधिसम्म एप्रोन निर्माण नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । २०१२ मा विमानस्थलको स्तरोन्नति परियोजना ठेक्का स्वपेनी कम्पनी कन्ट्रकटोरा सानजोसे पाए पनि निर्माण व्यवसायीसँगको विवादका कारण काम रोकिएको थियो । सन् २०२० मा सिंगापुरस्थित सिंगापुर इन्टरनेसनल आर्बिटेसन सेन्टर(एसआईएसी) ले नेपालको पक्षमा निर्णय गरे पनि मात्रै नयाँ ठेक्का लागेको थियो ।
यस्तै, केडिएन र सिसिइसी ह्याङ्गर एप्रोन निर्माण गरिरहेको छ । ४ अर्ब रुपैयाँमा उक्त ठेक्का २०२१ मा लागेको थियो । तर, यो काम पनि समयमै सम्पन्न हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
समानान्तर ट्याक्सी वे तथा इन र एक्जिट ट्याक्सी वे ग्रान्सु इन्जिनियरिङले निर्माण गरिरहेको छ । ४ अर्ब रूपैयाँ लागतको यो ठेक्का सन् २०२१ मा लागेको थियो । यो काम पनि निर्धारित अवधिमा सम्पन्न नहुने निश्चित छ । प्राधिकरणका अनुसार हाल भइरहेका सबै कामहरू २०२६ सेप्टेम्बर अक्टोबर सम्म सम्पन्न हुने सम्भावना छ ।
‘एयर साइड विस्तारको कामलाई गति दिँदै राज्यले गरेको लगानीबाट प्रतिफल लिनेभन्दा पनि काम सुस्त गर्दै लाभ लिने समूह प्राधिकरण भित्र सक्रिय छ,’ प्राधिकरणका अधिकारीहरू भन्छन्, ‘निर्धारित समयमा काम हुँदा लागत बढाउनुको साथै लगानीको प्रतिफल प्राप्त हुन समेत समय लागेको छ ।’
विमानस्थल किन बन्द गरियो ?
गत नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा विमानस्थल बन्द छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले जारी गरेको एनेक्स १४ मा विमानस्थलको धावनमार्गको मध्य बिन्दुमाबाट ७५ मिटरसम्मको दूरीमा अवरोध रहित क्षेत्र हुनु पर्ने उल्लेख छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको समानान्तर ट्याक्सी वेबाट धावनमार्ग जोड्न तथा एप्रोनबाट धावनमार्ग आउने ट्याक्सी जोड्ने र एप्रोन ह्याङ्गरलाई धावन मार्गसँग जोड्न विमानस्थल १० घण्टा बन्द गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठ अवरोधरहित क्षेत्रमा काम गर्न विमानस्थल सञ्चालनको अवधि घटाएको बताउँछन् ।
‘विमानस्थलमा समानान्तर ट्याक्सी वे, एप्रोन र ह्याङ्गर निर्माणको काम ३ वर्षदेखि भइरहेको छ । अहिले पनि २४ घण्टा नै विमानस्थल विस्तारको काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘रातीको समयमा हामी धावनमार्ग जोड्ने गरी काम काम गर्छौं । आगामी ५ महिनासम्म धावनमार्गबाट ७५ मिटरको दूरीमा सबै काम सम्पन्न गर्ने हाम्रो योजना छ ।’ आगामी ५ महिनामा हुने कामले विमानस्थलको क्षमता बढ्नेभन्दा पनि अवरोध क्षेत्र नजिकको काम सम्पन्न हुने श्रेष्ठ बताउँछन् ।
‘हाल भइरहेको एयर साइड बिस्तारको सबै काम सम्पन्न हुन डेढ वर्ष जति लाग्छ होला, ’ उनले भने, ‘डेढ वर्षपछि मात्रै समानान्तर ट्याक्सी वे सञ्चालनमा आउन सक्छ ।’
हाल ३ वटा निर्माण व्यवसायीले ७५ मिटर भित्रको अवरोध क्षेत्रमा काम गरिरहेका छन् । धावन मार्गमा विमान छिर्न र बाहिरिन प्रयोग हुने एक्जिट ट्याक्सी वेको काम ५ महिनाभित्र सम्पन्न हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ हजार ९०० मिटर लामो समानान्तर ट्याक्सी वे भए पनि उक्त ट्याक्सी वे आइकाओको मापदण्ड छैन।
‘यो ट्याक्सीवे धेरै पहिला निर्माण भएको हो । अहिले वाइडबडी विमान उडान र अवतरण हुने विमानस्थलमा धावनमार्गको बीच भागबाट ट्याक्सी वेको बीच भाग १७२.५ मिटरको दूरीमा हुनु पर्छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्याक्सी वे को बीच भाग धावनमार्गको बिच भागबाट ११० मिटरको दूरीमा छ,’ श्रेष्ठले भने, ‘जसले गर्दा आइकाओको मापदण्डअनुसार नयाँ समानान्तर ट्याक्सी वे बनाउनु परेको हो । नयाँ ट्याक्सी वे निर्माण भएपछि धावनमार्ग र ट्याक्सी वे एक साथ विमान चलाउन सकिन्छ ।’
हाल रहेको ट्याक्सी वेमा वाइड बढी विमान भएको अवस्थामा अन्य विमानहरू धावनमार्गमा उडान र अवतरण हुन सक्दैनन् । यस्तै, धावन मार्गमा वाइड बढी विमान उडान र अवतरण हुँदा अन्य विमानहरू ट्याक्सी वेमा जान सक्दैन ।
हाल प्राधिकरणले निर्माण गरिरहेको समानान्तर ट्याक्सी वे निर्माण सम्पन्न भए पनि त्यसबाट तत्कालै दुई विमान उडान र अवतरण भने हुने छैन ।
‘नेपाल आयल निगमले आफ्नो डिपो नसार्दासम्म समानान्तर ट्याक्सी वे प्रयोगमा आउन सक्दैन,’ विमानस्थलको पूर्वाधारका विषयमा जानकार प्राधिकरणका एक इन्जिनियर भन्छन्, ‘नेपाल आयल निगमले डिपो सारेपछि त्यस क्षेत्रमा समेत ट्याक्सी वे निर्माण भयो भने मात्रै समानान्तर ट्याक्सी वे प्रयोगमा आउँछ ।’
प्राधिकरणका एक अर्का इन्जिनियर आयल निगमले डिपो सारेर ट्याक्सी बनेको अवस्थामा पनि समानान्तर ट्याक्सी वे प्रयोग हुन नसक्ने बताउँछन् ।
‘यदि धावनमार्गको बीच भागबाट १७२.५ मिटरको दूरीमा समानान्तर धावनमार्ग प्रयोग गरियो भने विमान पार्किङ गर्ने स्पेस कम हुन्छ,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘हाल अन्तर्राष्ट्रिय विमानको एप्रोन क्षेत्रबाट समानान्तर ट्याक्सी वे प्रयोगमा आउँदा टर्मिनल भवन पनि नयाँ बनाउनु पर्छ । त्यसैले नयाँ टर्मिनल भवन नबन्दासम्म आयल निगमले डिपो नसार्दा पनि खासै फरक पर्दैन ।’
आइकाओको मापदण्ड अनुसार विमानस्थलभित्र कुनै दुर्घटना हुँदा वा अन्य आवश्यकतामा प्रयोग हुने पेरिमिटर सडक धावन मार्गको सेन्टर १५० मिटरको दूरीमा हुनु पर्छ । तर, हाल यो मापदण्डअनुसार पेरिमिटर सडक बनेको छैनन् ।
प्राधिकरणले एयर साइड सुधार अन्तर्गत केही ठाउँमा पेरिमिटर सडक समेत मापदण्ड अनुसार बनाइरहेको छ । यस्तै, ट्याक्सी वे भएका क्षेत्रको पेरिमिटर सडकलाई ट्याक्सी वे को सेन्टरबाट ४३.५ मिटरको दुरीमा नयाँ पेरिमिटर सडक बनिरहेको छ ।
युएस बंग्ला दुर्घटना भएको दक्षिण पूर्वक्षेत्रमा करिब पेरिमिटर सडक २ किलोमिटर क्षेत्रमा पेरिमिटर सडक तत्काल निर्माण नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् । हाल विमानस्थलभित्र करिब ५ किलोमिटर पेरिमिटर सडक बन्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
समानान्तर इन र एक्जिट गरी प्राधिकरणले करिब ३ किलोमिटर ट्याक्सी वे निर्माण गरिरहेको छ । यस्तै, विस्तार अन्तर्गत २ स्थान ह्याङ्गर बनाउन विभिन्न वायुसेवा कम्पनीलाई जग्गा छुट्टाएको छ ।
प्राधिकरणले नयाँ एप्रोन समेत निर्माण गरिरहेको छ । नयाँ एप्रोनमा १८ न्यारो बडी वा वाइड र न्यारो बडी गर्दा गर्दा ६/६ विमान पार्किङ गर्न पुग्छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ५ वाइड बढी र ६ वटा न्यारो बडी विमान पार्किङ गर्ने एप्रोन छ ।
समानान्तर ट्याक्सी वे निर्माणपछि हाल एप्रोन भएको क्षेत्रमा विमान पार्किङ गर्न मिल्ने छैन । हाल अन्तर्राष्ट्रिय उडान गर्ने वाइड र न्यारो बढी विमान पार्किङ हुने क्षेत्रमा आन्तरिक उडान गर्ने विमान राख्ने योजना छ । नयाँ एप्रोनको निर्माण हुँदा समेत समानान्तर ट्याक्सी प्रयोग भएको अवस्थामा विमान पार्किङ क्षमता ठुलै सुधार हुने छैन ।
प्राधिकरणका आयोजना प्रमुख श्रेष्ठले समानान्तर ट्याक्सी वे निर्माणपछि विमानस्थलको क्षमता २० प्रतिशतले बढ्ने बताउँदै आएका छन् । तर, प्राधिकरणका एक इन्जिनियर आयल निगम रहेको क्षेत्रमा समेत ट्याक्सी वे निर्माण हुनुको साथै नयाँ टर्मिनल भवन बन्दा मात्रै विमानस्थलको क्षमता बढ्ने बताउँछन् ।
‘विमानस्थलको क्षमता बढ्नु तथा उडान र अवतरण क्षमता बढ्नु फरक विषय हो । धावनमार्ग, ट्याक्सी वे, एप्रोन तथा ह्याङ्गरको निर्माणले विमानस्थलको उडान र अवतरण क्षमता बढाउँछ,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘विमानस्थलको क्षमता बढ्न एयर साइड बाहेक टर्मिनल साइड र ल्यान्ड साइटमा समेत सुधार हुनु पर्छ ।’
अहिलेको टर्मिनल भवन तथा विमानस्थल बाहिरको पार्किङ लगायतका पूर्वाधारमा सुधार नभए एयर साइडमा गरिएको लगानीले पर्याप्त लाभ नदिने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
प्राधिकरणले गुरुयोजना अनुसार टर्मिनल साइट र ल्यान्ड साइटको काम भने अगाडी बढाएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनले वार्षिक ३६ लाख यात्रुलाई सेवा दिने क्षमता राखे पनि हाल विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या ४५ लाख पुगिसकेको छ । जुन विमानस्थलको क्षमता भन्दा बढी पुगिसकेको हो ।
कोरोना महामारी अघि नै सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४५ लाख यात्रुलाई सेवा दिनेको थियो । कोरोना महामारीका कारण रोकिएको अन्तर्राष्ट्रिय यात्रुको वृद्धिदर पछिल्लो समय फेरी बढ्न लागेको छ । प्राधिकरणका अधिकारीहरू आन्तरिक यात्रुको संख्या समेत निरन्तर बढिरहेकाले टर्मिनल भवन नयाँ निर्माण नभएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने बताउँछन् ।
‘सरकारले आफैँले टर्मिनल भवन बनाउने हो भने पनि बजेट विनियोजन गर्नु पर्यो । सरकारसँग स्रोत छैन भने सार्वजनिक निजी साझेदारीमा भए पनि टर्मिनल भवन बनाउनै पर्छ,’ प्राधिकरणका अधिकारीहरू भन्छन्, ‘रनवे विस्तारले मात्रै विमानस्थलको समग्र क्षमता बढ्दैन भन्ने बुझ्नै पर्छ ।’