आफ्नो चीन भ्रमणबारे छलफल गर्दै प्रधानमन्त्री, बाबुरामले दिए यस्तो सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग आफ्नो आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन् । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराई भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् ।

आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

आफू सहभागी हुन नपाउने भए पनि भट्टराईले सामाजिक सञ्जालमा नै प्रधानमन्त्रीलाई केही सुझाव दिएका छन् । उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

भट्टराईले दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र​ भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

यस्तै नेपालको कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन् । चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा भट्टराईले जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् ।


क्लिकमान्डु