तथ्यांक व्यवस्थापनमा समस्या देखिएपछि राहदानी विभागको सबै काम ३ दिनदेखि ठप्प



काठमाडौं । तथ्यांक व्यवस्थापन (डेटा म्यानेजमेन्ट)मा प्राविधिकि समस्या देखिएको भन्दै त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो सेवा प्रभावित भएको जनाएको छ ।

गत शुक्रबारदेखि नै यस्तो समस्या देखिए पनि विभागले आइतबारसम्म सेवा सुचारु गर्न सकिरहेको छैन । शुक्रबार सूचना निकालेर सेवा प्रभावित भएको जनाएको विभागले आइतबारसम्म पनि सेवा सुचारु गर्न सकेको छैन । तर प्राविधिक टोलीले निरन्तर काम गरिरहेको विभागले जनाएको छ ।

विभागले सूचनामा लेखेको छ, ‘उक्त समस्या समाधानका लागि प्राविधिकहरुको टोलीले निरन्तर काम गरिरहेको र छिट्टै सेवा पुन:सुचारु गरिने ब्यहोरा समेत विनम्र अनुरोध छ ।’

यद्यपि विभागले कहिलेसम्म सेवा सुचारु गर्न सम्भव हुन्छ भनेर जानकारी दिएको छैन । विभागले आफ्नो वेबसाइटमा यस्तो सूचना राखे पनि सम्बन्धित पक्षसम्म सूचना नपुग्दा विभागको कार्यालयमा शुक्रबार र आइतबार पनि पासपोर्ट सम्बन्धी कामका लागि युवाहरु कार्यालयमा पुगेर फर्किनुपरेको छ ।

राहदानी विभाग अन्तर्गत विभिन्न जिल्ला, इलाका, प्रदेश तथा विदेशस्थित नियोगहरुमा पनि राहदानी सम्बन्धी सेवा प्रभावित भएको विभागले जनाएको छ ।


क्लिकमान्डु