भारतले पीक आवरमा बिजुली नदिने, उद्योगमा लोडसेडिङ बढ्ने
काठमाडौं । मंगलबार नेपाललाई भारतले करिब ६५० मेगावाट बिजुली सुक्खायाममा आयात गर्न अनुमति दियो । भारतले शर्तसहितको अनुमति दिएको हो ।
भारतले मार्च १५ तारिखदेखि साँझ ५ बजेदेखि ९ बजेसम्म बिजुली दिने छैन । अर्थात साँझको पीक आवरमा नेपालले बिजुली पाउने छैन। मार्च १५ तारिखदेखि जुन ३० सम्म नेपालले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) सम्म मात्रै बिजुली पाउनेछ ।
भारतले पीक आवर बिजुली नदिने र नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी पूर्णरुपमा बन्द रहेका कारण हिउँदमा विद्युतको व्यवस्थापन चूनौतीपूर्ण बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणका लोड डिस्प्याच सेन्टर प्रमुख यो पटक हिउँदको व्यवस्थापन सजिलो नभएको बताउँछन्। ‘भारतबाट भर्खरै आयातको स्वीकृति पायौं । हामीले लोड कसरी व्यवस्थापन गर्ने भनेर योजना बनाउनुपर्छ । सामान्य खालको बनाएर हुँदैन । हामी त्यसमा लागेका छौं,’ उनले भने, ‘व्यवस्थापन चुनौतीपूर्ण छ ।’
प्राधिकरणका कर्मचारीहरुका अनुसार यो पटक औद्योगिक लोड बढी काटिनेछ । उनीहरुका अनुसार पीक आवरमा उद्योगको लाइन काटिनेछ ।
गएको हिउँदमा प्राधिकरणले पीक आवरमा ८ घण्टासम्म लोडसेडिङ गरेको थियो । यो अझै बढ्न सक्ने प्राधिकरणका अधिकारीहरुको भनाइ छ । गएको हिउँदमा पनि भारतले सोलार आवर मात्रै बिजुली दिएका कारण उद्योगहरुमा लाइन कटौती भएको थियो ।
नेपालको अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । कुलेखानी १०० मेगावाटबाहेक नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना छैन । ३००० मेगावाट जडित क्षमता पुगे पनि गएको हिउँदमा आन्तरिक माग पूरा ६०० मेगावाट आयात गरिएको थियो ।
यो पटक ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोजना पूर्णरुपमा बन्द छ । तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले क्षतिग्रस्त जलविद्युत् आयोजना ठेक्का निकालेर मर्मत गरिसक्न ७/८ महिना लाग्ने बताए ।
‘१ अर्ब ८० करोड रुपैयाँभन्दा बढी क्षति छ । हामीले ठेक्का निकालेर मर्मत गर्नुपर्छ । ७/८ महिना लाग्छ । बर्खा अघि पूर्ण रुपमा सञ्चालनमा आउन गाह्रो छ,’ उनले भने, ‘पुस दोस्रो साताबाट आशिंक रुपमा चलाउन सकिन्छ कि भनेर हामी काममा लागेका छौं ।’
असोज दोस्रो साता आएको बाढीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याम साइटको कन्ट्रोल बिल्डिङ पूरै ध्वस्त भएको छ । कन्ट्रोल रुमभित्र रहेका ४ जना कर्मचारीको ज्यानै गएको थियो । कन्ट्रोल रुमसँगै इलेक्ट्रिकल, मेकानिकाल इक्विपमेन्टहरुमा क्षति पुगेको छ ।
सिभिलतर्फ डिस्यान्टरको सुरुको भाग ध्वस्त भएको छ । बक्स कल्भर्टमा क्षति पुगेको छ । पहुँचमार्गमा ध्वस्त भएको छ । डिस्यान्डर पुग्ने पहुँचमार्ग भने मर्मत भएको छ । सिंगटीमा ४६ नम्बरको टावरको क्रस आमहरु भाचिएको छ । त्यसलाई अन्तै सार्नुर्पर्ने अध्ययनले देखाएको छ ।
प्राधिकरणका अनुसार हिउँदमा १६०० मेगावाट बिजुलीको माग हुने अनुमान छ । हिउँदमा १००० मेगावाटभन्दा कम आन्तरिक उत्पादन हुन्छ । तामाकोसी नहुँदा पीकमा विद्युतको व्यवस्थापन गर्न थप समस्या पर्ने देखिन्छ ।
चिलिमेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना प्रणालीमा जोडिएको छ । बिहिबार प्रणालीमा आएको हो । केहि समयमा पूर्ण रुपमा यो आयोजना प्रणालीमा आउन कम्पनीको दाबी छ । यसो हुँदा प्राधिकरणलाई काठमाडौं उपत्यकाको बिजुली व्यवस्थापनमा केहि राहात भने मिल्नेछ । अरु थप दुई परियोजना समेत अन्तिम चरणमा छन् । यो बिजुली समेत हिउँदमा आउँदा सजिलो हुनेछ ।
पूर्वका उद्योगीहरुले अहिले नै ४ घण्टाको लोडसेडिङ भएको गुनासो गरेका छन् । उनीहरुले पीक आवरमा बिजुली नदिएका कारण ६० प्रतिशतसम्म उत्पादन कटौती गर्नु परेको पूर्वका स्टील उद्योगीहरुको गुनासो छ ।