विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुग्यो, १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुगेको छ ।

चालु आर्थिक वर्षको साउनको सुरुमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा बढेर १६ अर्ब ६० करोड पुगेको हो। चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.२ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। जुन गत आर्थिक वर्षभन्दा बढी हो । गत आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

चालु आर्थिक वर्षको तीन महिनामा शोधानान्तर स्थिति १ खर्ब ८४ अर्ब रुपैयाँले बचतमा हुँदा चालु खाता समेत १ खर्ब ११ अर्ब रुपैयाँले बचतमा छ।

नेपालमा भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने विदेशी मुद्रा कम भएपछि शोधानान्तर स्थितिसँगै चालु खाता समेत बचतमा गएको हो। गत वर्ष अषाढ मसान्तमा शोधानान्तर स्थिति ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा थियो ।


क्लिकमान्डु