दरबारमार्गमा साढे ६ अर्ब लगानीमा अन्नपूर्ण स्क्वायर होटल बन्दै, मीनबहादुरले गरे भूमिपूजा



काठमाडौं । अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको छ ।

अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार होटलको शिलान्यास गरेका हुन् ।

२५ तलाको संरचनासहितको होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने छ । ३५० कोठा हुने हुने होटलमा ४० कोठा अपार्टमेन्ट हुन्छ भने होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्ने छ ।

होटेल निर्माणमा करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको आँकलन छ । होटेल २०८५ देखि सञ्चालन गर्ने तयारी रहेको गुरुङले जानकारी दिए ।

दरबारमार्गको ५ तारे होटल डेल’ अन्नपूर्णलाई भत्काएर नयाँ संरचना बनाउन लागिएको छ ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्क्वायर बनाएर नयाँ ब्राण्डिङ गर्दै भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकम भित्र्याइएको हो ।

गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य राखेको बताए । उनले यो होटललाई नेपालको लक्जरी आतिथ्यताको होटल बनाउने पनि बताए ।

गुरुङले भाटभटेनी सानो क्षेत्रबाट सुरु गरेर अहिले देशव्यापी बनाएको कथासँग जोडर होटललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने उनको भनाइ छ ।


क्लिकमान्डु