रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे ८ करोड माथि
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तमा कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको छ ।
कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपैयाँ, वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ। १ अर्ब ७० करोड ७३ लाख ४०हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ छ ।
नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत वर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस वर्ष भने सुधार आएको छ ।
गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.९७ रुपैयाँमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा त्यसमा निकै सुधार भएर १९.९५ रुपैयाँ पुगेको छ ।
देशको ठूलो एक निर्यातमूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले विद्युतको प्रिमियम महशुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपीओ रोक्ने काम भएको थियो ।
यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने सम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल धितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ ।