नेपाल पेमेन्ट सोलुसनको व्यापार बढ्यो, स्थापना भएको छैटौं वर्षमा सकारात्मक मार्जिन



काठमाडौं । नेपाल पेमेन्टस सोलुसनको व्यापारमा वृद्धि भएको छ । सन् २०१८ मा स्थापना भएको नेपाल पेमेन्ट सोलुसनको व्यापार सन् २०२४ मा ५ करोड ३० लाख पुगेको हो ।

यसअघिका वर्षहरुमा पनि कम्पनीको व्यापार निरन्तर वृद्धि हुने ट्रेन्डमा थियो । सन् २०२१ मा २० लाख, सन् २०२२ मा ८० लाख र सन् २०२३ मा कम्पनीले ३ करोड ४० लाखको कारोबार गरेको थियो ।

व्यापारमा वृद्धि भइरहँदा कम्पनीको मार्जिन पनि सकारात्मक अवस्थामा पुगेको छ । सन् २०२१ देखि सन् २०२३ सम्म निरन्तर नकारात्मक मार्जिन रहेकोमा सन् २०२४ मा भने कम्पनीको मार्जिन १८.६८ प्रतिशत पुगेको छ ।

सन् २०१८ मा सुरु भएको यो कम्पनी नेपाल सरकारको भुक्तानी प्रणाली विभागबाट अनुमति पाएको तथा नियमन भएको अटोमेटेड क्लियरिङ हाउस हो । कम्पनीले सन् २०१९ मा राष्ट्र बैंकबाट अनुमति पाएको थियो । कम्पनीको सञ्चालक समितिमा चार जना रहेका छन्, जसको अध्यक्षता गौरी राज जोशीले गरिरहेका छन् । उनी सूचना प्रविधिको क्षेत्रका उद्यमी हुनुका साथै गैर आवासीय संघका महासचिव पनि हुन् ।


क्लिकमान्डु