भैरहवामा २३ घन्टाको बयानपछि रविलाई पोखरा लगियो



काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा अदालतमा बयान सकेर पोखरा लगिएको छ । बयानका मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो ।

भैरहवामा बिहीबार साँझ मात्रै लामिछानेको बयान सकिएपछि शुक्रबार दिउँसो यति यएरलाइन्सको विमानबाट पोखरा ल्याइएको हो ।

शुक्रबार बिहानै पोखरा ल्याउने तयारी गरिए पनि विमानस्थल बन्द भएका कारण दिउँसो साढे १ बजे मात्रै उनलाई पोखरा ल्याइएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा लामिछानेसँग भैरहवा अदालतस्थित सरकारी वकिलको कार्यालयमा दिन दिन लगाएर २३ घन्टासम्म बयान लिइएको थियो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सहकारी ठगी प्रकरणका अर्का अभियुक्त जीबी राईसँग मिलेर विभिन्न सहकारीबाट गोरखा मिडियामा लगानी भित्र्याएको भन्दै संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेको थियो । सोही अनुरुप उनलाई पक्राउ गरी पोखरा र भैरहवामा क्रमश: बयान लिइएको हो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु