हिमालयन रिइन्स्योरेन्सले कमायो २२ करोड ६३ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्सले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशतले बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १७ करोड ५२ लाख रुपैयाँ थियो । गत आवको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा नाफामा वृद्धि भएको हो ।

कम्पनीको खुद बिमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार ७ अर्ब १९ करोड रुपैयाँ भन्दा धेरैको छ ।

लगानी तथा ऋण प्रवाहवापतको आम्दानी गत आवको पहिलो त्रैमासमा १८ करोड ४३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३१ करोड २१ लाख रुपैयाँ छ । दुबै आम्दानी बढ्दा कुल आम्दानीमा बढोत्तरी भएको छ । कुल आम्दानी यसअघि १ अर्ब १ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २४ करोड रुपैयाँ छ ।

कुल आम्दानी वृद्धिसँगै नाफामा योगदान पुगेको देखिन्छ । कम्पनीको सञ्चित आम्दानी ८१ करोड ९५ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी गतवर्ष १० रुपैयाँ १ पैसा रहेकोमा समीक्षा अवधिमा ८ रुपैयाँ ७१ पैसा रहेको छ त्यस्तै प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा छ ।


क्लिकमान्डु