अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा ऋचा र शंकर घिमिरेविरुद्ध उजुरी



काठमाडौं । फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा घिमिरे र उनका पति शंकर घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

अमेरिका पठाइदिने प्रलोभनमा पारेर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएर ठगी गरेको उनीहरुमाथि आरोप छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा ती व्यक्तिले बुधबार जाहेरी दिएका हुन् । तर उजुरी दिने व्यक्तिको विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

यद्यपि कतिपयले उजुरीको व्यहोराको पत्र सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । साथै घिमिरे दम्पतीले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

लामो समय अमेरिका बसेर नेपाल आएका घिमिरे दम्पती भने यतिबेला नयाँ फिल्म तेल भिसा प्रदर्शनको तयारी र प्रचार प्रसारमा व्यस्त छन् । शंकर निर्देशक र ऋचा अभिनेत्री रहेको उक्त फिल्म मंसिर ७ देखि प्रदर्शनमा आउने बताइएको छ ।

यही फिल्मका लागि अमेरिकाबाट सुशील क्षेत्री पनि नेपाल आएका छन् । उक्त फिल्ममा ऋचासहित विपिन कार्की, वर्षा कार्की लगायतका कलाकारहरु रहेका छन् ।


क्लिकमान्डु