मैले औद्योगिक वातावरण खल्बलाएको छैन, संसारमै नभएको सुविधा दिएको छुः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफू औद्योगिक वातावरण खल्बलाउने नभएर औद्योगिक वातावरण बनाउन वा बढावा दिन प्रतिबद्ध रहेको बताएका छन् । डेडिकेटेड ट्रंकलाइन विवादका कारण उद्योगको विद्युत काटेर औद्योगिक वातावरण बिगारेको आरोपको कटाक्ष गर्दै कुलमानले यस्तो बताएका हुन् ।

‘लाइन काटेर वातावरण बिग्रिएको छैन,’ उनले भने, ‘हामी त वातावरण बनाउन सुरुदेखि लागेका छौं ।’

आफू दोस्रोपल्ट नेतृत्वमा आउनुअघिको नेविप्रा नेतृत्वले डेडिकेटेड ट्रंकलाइनको पैसा नउठेसम्म नयाँ लोड स्वीकृति नदिने अडान लिएकामा आफू आएर उद्योगको ८०० मेगावाट लोड स्वीकृत गरेको दाबी गरे । ‘पछिल्लो चरणमा ८०० मेगावाटको लोड स्वीकृत गरेर उद्योग स्थापनामा सहयोग गरेका छौं,’ उनले भने, ‘कुल १२–१३ सय मेगावाटको लोड स्वीकृत गरेका छौं । उहाँहरुले यति धेरै विद्युत चलाउन सक्नुहुन्छ । हामी सहयोग नै गरिरहेका छौं ।’

डेडिकेट ट्रंकलाइनको प्रिमियम महसुल हटाएको र घरेलु भन्दा सस्तो दरमा उद्योगलाई बिजुली दिइरहेको भन्दै कुलमानले भने, ‘यस्तो अभ्यास संसारमै छैन ।’ तसर्थ ,नेविप्रालाई औद्योगिक वातावरण बिगा¥यो भन्ने आरोप लाग्नु उचित नभएको उनको दाबी छ ।


क्लिकमान्डु