राष्ट्र बैंकले बजारबाट १०० अर्ब रुपैयाँ उठाउँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको सूचना प्रकाशित गर्दै इच्छुक बैंक वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
राष्ट्र बैंकले बोलकबोल विधिबाट ३ प्रतिशतसम्म ब्याज दिँदै निक्षेप संकलन गर्न लागेको हो ।
ब्याजदर करिडोरको सिद्धान्न अनुसार निक्षेप संकलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएको अवस्थामा केन्द्रीय बैंकले बजारबाट निक्षेप संकलन गर्ने तथा बैंक दर भन्दा अन्तर बैंक ब्याजदर बढी भएको अवस्थामा नितीगत दरमा रिपो जारी गर्दै बजारमा पैसा पठाउनु पर्छ ।
हाल निक्षेप संकलन दर ३ प्रतिशत नीतिगत दर ५ प्रतिशत र बैंक दर ६.५ प्रतिशत छ ।
गत कात्तिक १२ गते ३ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर कात्तिक १३ गते घटेर २.७ प्रतिशतमा झरेको थियो । तिहारको लामो बिदापछि मंगलबार कार्यालय खुल्दा अन्तरबैंक ब्याजदर थप घट्ने देखिएपछि राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन गरेको हो ।
दशैं विदापछि कार्यालय खुलेपछि कात्तिक १ गते राष्ट्र बैंकले १३ दिन अवधिका लागी १०० अर्ब निक्षेप संकलन गर्ने प्रस्ताव आह्वान गरेको थियो । तर, बैंक तथा वित्तीय संस्थाले औषत २.९९ प्रतिशत ब्याजदरमा ३२ अर्ब ५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गर्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई निक्षेप संकलन दर भन्दा मुनी जान नदिन कात्तिक ७ गते समेत ७ दिन अवधीका लागी ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रस्ताव पेस गरेको थियो । तर, बैंक तथा वित्तीय संस्थाले २.९९ प्रतिशत ब्याजदरमा १६ अर्ब ६० करोड रुपैयाँ राष्ट्र बैंकमा निक्षेप राख्ने प्रस्ताव पेश गरेका थिए ।
राष्ट्र बैंकले कात्तिक १ र ७ गते संकलन गरेको सबै निक्षेप ब्याजसहित कात्तिक १३ गते फिर्ता गरिसकेको छ ।