देश किन डुब्यो भन्ने हेर्न वैद्यखाना आउनुस्, सरकारले नसके हामी चलाउँछौं: बालेन (भिडियो)



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई दिन आग्रह गरेका छन् ।

बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै शाहले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए ।

बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने शाहको भनाइ छ ।

देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने उनको भनाइ छ ।

सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको शाहले बताए ।

लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको उनको भनाइ छ ।

०५८/५९ सालमा ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको भन्द उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए ।

आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको शाहको भनाइ छ ।

सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने उनले बताए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए । सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको शाहको भनाइ छ ।

‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ, ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ?,’ शाहले भने, ‘देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ । यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।’

बालेनले यसो भने

सरकारले केही पनि नगरोस् भन्ने हामी मान्यतामा रहेको देखिन्छ । ५८÷५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ । यहाँको बजेट ५० करोड पनि कम हुन्छ, वास्तवमा भन्दा । पहिला पहिला यो ठाउँमा खालि क्षेत्र धेरै थियो । औषधि धेरै उत्पादन हुन्थ्यो । अहिले जताततै भवन छ, औषधि छैन । दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन । यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडि चेन्ज हुन्छ । यहाँको एमडी ५० हजारमा पनि चेन्ज हुन्छ । पहिला ५० हजार रुपैयाँमा पनि एमडी चेन्ज भएको ठाउँ हो । अहिले रेट बढ्यो कि घट्यो के छ थाहा भएन ।

ठेक्का लाग्दा शुरुवाती कुरामै कमी कमजोरी देखिन्छ । ठेकेदारसँग ठेक्का गर्नुपर्छ । उसले राम्रो जडिबुटी दिँदैन, जडिबुटी नै राम्रो नआएपछि कसरी राम्रो उत्पादन हुन्छ । आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो । सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ । देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुपर्‍यो नि । सचिवज्युको एउटा कुरामा म के सहमत भएँ भने मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । किनभने एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ ।

मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन । सबै चिज डुबाइएको छ । यो सबै चिज उकास्न जरुरी छ । वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ । औषधि उत्पादन हुनुपर्‍यो । औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त । बेच्ने चिज पनि कसरी घाटामा जान्छ । सरकारले गरिदिनुपर्‍यो । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुपर्‍यो । महानगरपालिकाले सञ्चालन गर्छ ।


क्लिकमान्डु