एसियाली बजारमा छिट्टै आउँदै बीवाईडी सार्क-६, यस्ता छन् फिचर



काठमाडौं । चिनियाँ ईभी उत्पादक कम्पनी बीवाईडीले आफ्नो पहिलो पिकअप सार्क ६ औपचारिकरुपमा मेक्सिकोबाट पहिलो पटक सार्वजनिक गरे पनि अब छोटो समयमै एसियाली बजारमा आउने तयारीमा छ । अष्ट्रेलियाबाट सार्वजनिक हुने अन्तिम तयारीमा रहेको बताइएको छ ।

बीवाईडीको वहुप्रतिक्षित मोडेल मानिएको सार्क ६ गत मे महिनामा मेक्सिकोबाट पहिलो पटक सार्वजनिक गरिएको हो । यो मोडल हाल ब्राजिल, मेक्सिको, पानामामा बिक्री भइरहेको छ । साथै अब छिट्टै अस्ट्रेलियामा पनि सार्वनिक गर्ने तयारी भएको हो।

तर उत्पादक देश चीनमा भने अहिलेसम्म लन्च गरिएको छैन । मेक्सिकोमा पहिलो पटक कम्बोडियाको सर्वाधिक विक्रेता हार्मोनी अटोसँगको साझेदारीमा सार्वजनिक गरिएको हो । बीवाईडीका प्रतिनिधिहरुले सार्क ६ लाई एक गेम चेन्जरको रुपमा प्रशंसा गरेका छन् ।

बीवाईडीले यसअघि सबै मोडेलहरु चीनबाटै सार्वजनिक गरेपछि मात्रै सम्बन्धित मोडेल अन्य देशमा उपलब्ध गरिँदै आएको थियो ।

यस मोडेलको सुरुवाती मूल्य ५३ हजार ४ सय अमेरिकी डलर तोकिएको छ । जुन प्लग इन हाइब्रिड पावरट्रेनमा रहेको छ । बीवाईडी सार्कले हाल ३ वर्ष वा ५० हजार किमीसम्म निशुल्क मर्म साथै ७ किलोवाट चार्जर र ८ वर्ष वा १ लाख ६० हजार किमी वारेन्टी जस्ता सुविधा ग्राहकलाई दिँदैछ ।

यस्ता छन् फिचर

यस्तै ३ हजार २ सय ६० एमएम ह्विलबेस रहेको सार्क ६ को लम्बाइ ५ हजार ४ सय एमएम हुनुका साथै चौडाइ १ हजार ९ सय ९१ एमएम र उचाइ १ हजार ९ सय २५ एमएम रहेको बताइएको छ ।

यसैगरी डुअल मोटर सेटअपमा फ्रन्ट मोटरले १ सय ७० किलोवाट पिकअप पावर र ३ सय १० एमएम टर्क जेनेरेट गर्ने बताइन्छ । र रियर मोटरको १ सय ५० किलोवाट पिक पावर साथै ३ सय ४० एमएम टर्क जेनेरेट गर्छ ।

ब्याट्री

ब्याट्रीको सन्दर्भमा सार्क ६ पिकअपमा २९.५८ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । यसले १ सय किमी रेन्ज दिने बताइएको छ । साथै आईसी र ईभीको संयुक्त रेन्ज भने ८ सय ४० किमी रहेको छ । यसैगरी सार्क ६ ईभीमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन समेत जडान छ । जसको विध्युतीय र आईसी इन्जिनको संयुक्त पावर ४ सय ३० हर्सपावर हुन्छ ।

गति

बीवाईडी सार्क ६ को गतिबारे कम्पनीले ५.७ सेकेन्डमा ० देखि १ सय किमी प्रतिघन्टाको गतिमा गुड्नसक्ने जानकारी दिएको छ। तर उच्चतम गतिको रुपमा प्रतिघन्टा १ सय ६० किमी रहेको बताइएको छ । यस्तै फोर ह्विल ड्राइभमा उपलब्ध सार्कमा बालुवा, माटो र हिउँमा समेत गुड्नसक्ने मोड उपलब्ध छ ।

यस्तै उक्त सवारीमा ८ सय ३५ केजी पेलोड क्यापासिटी र २ हजार ५ सय केजीसम्मको टोइङ क्यापासिटी रहेको बताइएको छ। यसवाहेक डिजिटल की, भ्वाइस कन्ट्रोल, ३६० डिग्रीको क्यामेरा, वायरलेस फोन चार्ज लगायत फिचरहरु सार्क ६ मा उपलब्‍ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु