रवि र छविलाई अदालत लगियो, म्याद थप होला ?
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
बिहीबार लामिछाने र जोशीलाई अदालतमा पेस गरिएको हो । रास्वपा र सहकारी पीडितको प्रदर्शनले अवरोध हुनसक्ने भन्दै अदालत खुले लगत्तै उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।
आइतबार अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको समय दिएको थियो । उक्त समय आजबाट सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो ।
लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा गएको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो । लामिछाने गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनका प्रवन्ध निर्देशक हुन् ।