रविलाई तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो: स्वर्णिम वाग्ले



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएका छन् ।

विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै लामिछानेलाई दालभात खुवाउन ल्याएको हो भन्दै प्रश्न गरे ।

‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०-११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४-५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?’ उनले भने ।

सरकारले लामिछानेको अपमान र मानमर्दन गर्न खोजेको उनले आरोप लगाए ।

‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ,’ वाग्लेले भने, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’


क्लिकमान्डु