रवि पक्राउ पर्ने हल्लापछि रास्वपाका नेताहरु पार्टी कार्यालयमा



काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको खबर आइरहँदा रास्वपाका नेताहरु बनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।

रास्वपाका शीर्ष नेताहरुले सबै सदस्यलाई पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेका थिए । सोही अनुसार शुक्रबार दिउँसो केन्द्रीय सदस्यहरुसहितका नेताहरु बनस्थलीमा पार्टी कार्यालयमा भेला भएका हुन् । यद्यपि पार्टी पदाधिकारीहरुले औपचारिक रुपमा बैठक आह्वान गरेका छैनन् ।

यसअघि असोज ६ गते पनि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा भेला भएर सरकारको विरोध गरेका थिए । शुक्रबार भने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामिछाने पक्राउ पर्नसक्ने अभिव्यक्ति दिएपछि फेरि रास्वपा कार्यालयमा कार्यकर्ताहरु भेला भएका हुन् ।

सहकारी ठगी प्रकरणमा गठन भएको संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति लामिछानेलाई पनि दोषी ठहर गर्दै छानबिन गर्न सुझाव दिएको थियो ।

यसअघि सहकारीको रकम गोरखा मिडियामा अपचलन गरेको भन्दै लामिछानेलाई समितिले जिम्मेवार ठहर गरेको हो । उनीसँगै जीबी राई, छबिलाल जोशीलाई पनि समितिले दोषी ठहर गरेको छ ।

छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने राई फरार रहेका छन् । रास्वपाका नेताहरु भने लामिछानेलाई समितिले क्लिन चिट दिएको दाबी गरिरहेका छन् ।


क्लिकमान्डु