ह्वाट्सएप र इन्स्टासहितका कर्मचारी हटाउँदै मेटा कम्पनी



काठमाडौं । मेटाले ह्वाट्सएप, इन्स्टाग्रामलगायतका आफ्ना विभिन्न विभागका कर्मचारीहरुलाई निष्कासन गर्न थालेको छ ।

प्रविधिसम्बन्धी सञ्चारमाध्यम द भर्जकाअनुसार मेटाले ह्वाटस्एप, इन्स्टाग्राम र रियालीटी ल्याबजस्ता आफ्ना विभिन्न विभागमा काम गर्ने कर्मचारीलाई रोजगारीबाट निकाल्न लागेको हो । उक्त विषयसँग सम्बन्धित स्रोतलाई उदृत गर्दै द भर्जले यस्तो जनाएको छ ।

कर्मचारीलाई निकाल्ने यो कदम कम्पनीभरीका कर्मचारीलाई प्रभाव पार्ने गरिको भारी बर्खास्ती नभएर सानो संख्यामा विभिन्न कारणले रहेको जनाइएको छ ।

सञ्चारमाध्यममा मेटाले कर्मचारीलाई बर्खास्त गरेको विषय सार्वजनिक भईरहँदा सामाजिक सञ्जालमा पनि मेटाका कर्मचारीहरुले आफूलाई निकालिएको विषयबारे बताएका छन् । मेटाकी एक कर्मचारी जेन मानचुन वङले सामाजिक सञ्जालको माध्यम थ्रेड्समार्फत आफूलाई निकालिएको जानकारी दिएकी छिन ।

मेटाका प्रवक्ता डेभ आर्नल्डले भने आफूहरुले कर्मचारीहरुलाई निकालिएको विषयमा स्रोतको सुनिश्चितता र दीर्घकालिन रणनीतिक लक्ष्यलाई हेर्नै केही परिवर्तन गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यसमा केही विभागलाई फरक ठाउँमा लैजानेदेखि केही कर्मचारीहरुलाई फरक भूमिकामा लैजाने पनि रहेको छ । आआफ्नो भूमिकामा रहेका कर्मचारी बर्खास्त गरिएको विषयमा भने हामीले प्रभावित कर्मचारीहरुलाई थप र अन्य राम्रा अवसरहरु खोज्नका लागि काम गरिरहेका छौं ।’

यसपटक मेटामा भइरहेको यो कर्मचारी बर्खास्ती सन् २०२४ को सुरुवातमा कम्पनीको एक अंश रियालीटी ल्याबमा गरिएको बर्खास्तीपछिको हो । मेटाले सन् २०२२ मा झन्डै ११ हजार कर्मचारीलाई निकालेको थियो । कोरोना महामारीका क्रममा मेटामा देखिएको अति विकासक्रमबाट प्रभावित भएर थपिएको कर्मचारीहरुलाई कम्पनीले क्रमश: बर्खास्त गर्दै आएको थियो ।


क्लिकमान्डु