शारदा र राठी समूहको प्रिमियर स्टिलको व्यापार बढ्यो, कतिको गर्यो व्यापार ?



काठमाडौं । शारदा ग्रुप र राठी ग्रुपको संयुक्त स्वामित्वमा रहेको प्रिमियर स्टिल लिमिटेडको व्यापारमा केही सुधार देखिएको छ ।

सन् २०२१ यता व्यापारमा गिरावट भोगिरहेको प्रिमियरको व्यापार सन् २०२४ मा भने केही सुधार भएको हो । कम्पनीले सन् २०२४ मा ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२१ मा प्रिमियरले ६ अर्ब १६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछि भने कम्पनीको व्यापारमा निरन्तर गिरावट आएको थियो । सन् २०२२ मा कम्पनीले ५ अर्ब ८४ करोड ६० लाखको व्यापार गरेको थियो । सन् २०२३ मा यसको व्यापार ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

सन् २०२१ यता व्यापारमा गिरावट भोगेको कम्पनीले सन् २०२४ मा भने केही सुधार गरेको हो ।

कम्पनीको व्यापारमा सुधार भइरहँदा मार्जिनमा भने संकुचन देखिएको छ ।

सन् २०२१ मा यसको मार्जिन ५.८९ प्रतिशत थियो । सन् २०२२ मा मार्जिन ४.७५ प्रतिशतमा सिमित भएकोमा सन् २०२३ मा मार्जिन बढेर ७.११ प्रतिशत भएको थियो । सन् २०२४ मा भने मार्जिन केही कम भई ६.१७ प्रतिशतमा सीमित भएको छ ।

सन् २०१६ मा शिभरत्न शारदाले सुरु गरेको प्रिमियर स्टिल प्रालि सन् २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । शारदा ग्रुप र राठी ग्रुपको संयुक्त स्वामित्व रहेको कम्पनी नेपालकै सबैभन्दा ठूलो स्टिल उत्पादक कम्पनीमध्येमा पर्छ । सुनसरीको दुहवीमा उत्पादन कारखाना रहेको कम्पनीले वर्षेनी १ लाख ८० हजार मेट्रिक टन टिएमटी बार र १ लाख २० हजार मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ ।

हालका लागि कम्पनीले ५ अर्ब ४६ करोड १३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईन्फोमेरिक्सले प्रिमियरलाई २ अर्ब १ करोड १३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ३ अर्ब ४५ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु