कामना सेवा विकास बैंकका सीईओको तलब भत्ता १ करोड बढी, सञ्चालकले बुझे साढे ५१ लाख



काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब भत्ता बापत १ करोड ७ लाख ७ हजार ८८८ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओलाई अन्य सुविधा बापत २६ हजार ८२० रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कुनै व्यक्तिले पाउने तलब भत्ता ५० लाख भन्दा बढी छ भने त्यस बापत राज्यलाई ३९ प्रतिशत आयकर तिर्नुपर्ने कानूनी व्यवस्था छ । बैंकले पनि सीईओलाई दिने तलब, भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेको छ ।

बैंकले गत आवमा सञ्चालकलाई भत्ता तथा विभिन्न शिर्षकमा ५१ लख ५६ हजार ११५ रुपैयाँ खर्च गरेको छ । सञ्चालकलाई भत्ता बापत १४ लाख ७६ हजार र यातायात, भ्रमण, टेलिफोन तथा पत्रपत्रिका खर्च बापत ३६ लाख ८० हजार ११५ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सञ्चालक समितिका अध्यक्षलाई ९ हजार र सञ्चालकलाई ८ हजार रुपैयाँ प्रति बैठक भत्ता दिने गरेको छ । बैंकको अध्यक्षमा सुदिप आचार्य रहेका छन् भने सञ्चालकमा भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, विश्वेश्वर सुवेदी, बलराम बराल र सीता घिमिरे रहेका छन् ।

बैंकले गत आजको नाफाबाट ७ प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद लाभांश सहित १२ प्रतिशत लाभांश दिएको छ । यो प्रस्ताव बुधबार सम्पन्न सभाले पारित गरेको छ ।


क्लिकमान्डु