१ लाखलाई रोजगारी दिएको टिकटकले कर्मचारी कटौती गर्दै, नेपालमा के होला ?



एजेन्सी । टिकटकले सयौं कर्मचारी हटाउने जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिलाई बलियो बनाउन कर्मचारीहरु कटौती गर्न लागेको टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले जनाएको हो ।

तर कुन देशमा कति कर्मचारी हटाउने भन्ने विषयमा टिकटकले विस्तृतमा उल्लेख गरेको छैन । बाइटडान्सका अनुसार विभिन्न देशका २ सय भन्दा धेरै सहरमा टिकटकका १ लाख १० हजारभन्दा धेरै कर्मचारी छन् ।

कर्मचारी कटौतीको सन्दर्भमा नेपालमा हटाउने वा नहटाउने भन्ने विषयमा पनि टिकटकले ठोस रुपमा जानकारी दिएको छैन । टिकटकबारे जानकारहरुले भने कम्पनीले विभिन्न देशबाट मार्केटिङ र कन्टेन्ट मोडरेसन विभागमा कार्यरत कर्मचारीहरुलाई हटाउने दाबी गर्दै आएका छन् ।

यसैबीच मलेसियामा मात्रै ५ सय कर्मचारीले रोजगारी गुमाउन सक्ने बताइएको छ । टिकटक प्रतिनिधिहरुले कन्टेन्टलाई प्रभावकारी बनाउन यस्तो योजना ल्याइएको जनाएका छन् ।

यद्यपि केही समयअघि टिकटकले नेपालका लागि उच्च तहमा केही कर्मचारी आवश्यक रहेको भन्दै दरखास्त आह्वान गरेको थियो । तर उक्त आह्वानले नेपालको सन्दर्भमा कर्मचारी कटौतीको योजनालाई प्रभावित पार्छ वा पार्दैन यकिन छैन ।

जवकि नेपालमा यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकमा प्रतिबन्ध लगाए पनि हाल केपी ओली नेतृत्वको सरकारले फुकुवा गरेको छ । साथै यसका लागि सरकारले आवश्यक मापदण्डहरु तथा नियमनकारी संयन्त्र बनाउने काम गरिरहेको जनाएको छ ।

विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल टिकटकले विश्वभर राम्रो आम्दानी गरे पनि अमेरिकाका कतिपय राज्यसहित कैयौं देशहरुमा प्रतिबन्धित नै छ । विशेषगरी कतिपय देशहरुले बालबालिका र किशोरकिशोरीलाई टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।


क्लिकमान्डु