बाढीले सुनसरीमा ५० लाखको केरा नोक्सान



सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन् ।

उनले भने ‘आफ्नै जग्गामा प्रति बिघा ८ लाखको लागतमा केरा लगाएको थिएँ । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए ।

बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।’ उनले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए ।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए ।

बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले ५० लाख रुपैयाँ बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ ।

हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यस वर्ष केरा खेतीमा प्राकृतिक प्रकोपले ठूलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आकलन गरिएको छ भने मूल्य बढ्ने आकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदैआएको छ ।


क्लिकमान्डु