निगमको टिकेट खोलेको एक घण्टाभित्रै ७० वटा सकियो, बाँकी भोलि बिहान खुल्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको काठमाडौं भैरहवा उडानको टिकेट खोलेको १ घण्टाभित्रै ७० वटा सकिएको छ । निगमले यात्रुको चाप मूल्यांकन गर्न १ घण्टाका लागि टिकेट खोलेकाे थियाे । टिकेट खाेल्नासाथ एकैछिनमा १५८ सिट क्षमताका करिब आधा प्याक भएको छ । अब बाँकी आधा क्षमताको लागि भोलि मंगलबार विहान टिकेट खुला गरिने नेपाल वायुसेवा निगमका प्रवक्ता मनोजकुमार साहले बताए ।

उनका अनुसार यात्रुको डिमाण्ड प्याटर्न कस्तो हुन्छ भनेर हेर्दा हेर्दा सबै टिकेट सकिने अवस्था देखियो । आजका लागि आधा क्षमता मात्रै बिक्री गरेर आधा क्षमताको टिकेट भोलि बिहान खुला गरिने गरी निगमले यात्रुलाई टिकट बिक्रीको तालिका मिलाएको पनि उनले बताए ।

निगमले फूलपातीको दिन विहान ७ हजार रुपैयाँमै काठमाडौंबाट भैरहवा लैजाने ३ हजारमै भैरहवाबाट काठमाडौं यात्रु ल्याउने भएको छ । निजी वायुसेवाको तुलनामा निगमको न्यारोबडी जहाजले उडान गर्दा सस्तो परेको र टिकट नपाएर हैरानी भएका यात्रुलाई निगमले उद्धार उडानमार्फत भैरहवा लाने भएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानको तालिका प्रभावित नहुने गरी बचेको एक घण्टाको समयलाई सदूपयोग गरेर भैरहवा उडान राखेको साहले बताए । उनका अनुसार निगमसँग जम्मा २ वटा मात्रै न्यारोबडी जहाज भएकोले थप उडान भैरहवाको लागि गर्न सकिदैन् । जहाजको संख्या कम भएको र अन्तर्राष्ट्रिय उडानको चाप समेत बढी भएकोले काठमाडौंबाट भैरहवाको लागि १ उडान मात्रै गर्न सकिने उनले बताए ।


क्लिकमान्डु