लोडबोडले ल्यायो यातायातबारे जानकारी दिने एप



काठमाडौं । देशभर संचालित सवारी साधनहरुको विवरण यकिन नभएको, सवारी साधनको वास्तविक स्थान, कुल भारको अवस्था, बिग्रेको, दुर्घटनामा परेको जस्ता जानकारी समयमै सम्बन्धित पक्षसम्म पठाउन मिल्ने एप सञ्चालनमा आएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको कार्यक्रमलाई टेवा दिन लोडबोड प्रालिले ढुवानी तथा यातायातसम्बन्धी जानकारी दिन सफ्टवेयर तथा मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यसका लागि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि साथ दिएको लोडबोड प्रालिले जनाएको छ । लोडबोड एक अत्याधुनिक डिजिटल प्लेटफर्म हो । जसले लजिस्टिक्स इकोसिस्टममा संलग्न करियर्स, ड्राइभर्स र अन्य प्रमुख सरोकारवालाहरुलाई एकीकृत प्लेटफर्ममा एकजुट गर्छ ।

जीपीएस ट्याकिङ सिस्टमबाट मालवाहक गाडीहरुको स्थान, तौलपुलले देखाएको तौल साथै गाडीको अवस्थाबारे सम्पुर्ण जानकारी तुरुन्तै प्राप्त गर्न सकिन्छ । उक्त सफ्टवेयरको उद्देश्य लजिस्टिक्स चेनका हरेक सहभागीलाई सशक्त बनाउनको निम्ति एक सहज, प्रभावकारी, र सहयोगी वातावरण सिर्जना गर्नु हो ।

लोडबोडले डेटा विश्लेषण र स्वचालित प्रणालीहरूको प्रयोग गरेर परिवहन र लजिस्टिक्स प्रक्रियाहरूलाई अझ प्रभावकारी र कुशल बनाउँछ ।

जसले गर्दा व्यवसायीहरु आफ्ना प्रतिस्पर्धीहरूभन्दा अघि रही अग्रणी भूमिका खेल्न सक्छन् । यस प्लेटफर्मले वास्तविक समयको ट्र्याक गरी स्वचालित प्रक्रियाहरू, मार्फत सिपर, क्यारियर्स, र ड्राइभरहरू बीच स्पष्ट संचार प्रदान गर्दै पारदर्शितालाई प्रवर्द्धन गरि लजिस्टिक्स नेटवर्कमा सुमधुर सम्बन्ध कायम गर्दै विश्वास निर्माण गर्न मदत गर्छ ।

लोडबोडको चालक एप मार्फत नेपाल ट्रक यातायात व्यवसायी महासंघ अन्तर्गतका स्थानिय संघमा जोडिएका सवारी साधनहरु तौलपुलमा क्युआर स्क्यान गरी गाडी प्रवेश गर्ने तथा डिजिटल लोड स्लीप एपमा प्राप्त गर्न सक्नेछन् ।

दर्ता नभएका सवारी साधनहरुले पनि क्युआर स्क्यान गरी गाडी प्रवेश गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । साथै तौलपुलमा प्रवेश भएका भारतीय सवारी साधनहरुको पनि संख्या तथा तौलको रेकर्ड बसिरहने हुँदा आवश्यकता अनुसार सो विवरणहरु प्रयोग गर्न सकिनेछ ।


क्लिकमान्डु