गोरखा र चितवनको सीमा क्षेत्रमा ५ दिनदेखि विद्युत् अवरुद्ध



गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको खम्बामा क्षति पुर्‍याएपछि पाँच दिनदेखि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युतका खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणि अधिकारीले जानकारी दिए ।

‘झोलुङ्गे पुलसँगै विद्युका चार वटा खम्बामा बाढीले क्षति पु्र्‍याएको छ’, उनले भने, ‘खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

क्षति भएका खम्बा मर्मत गरिसकिएको भन्दै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए । ‘पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ’, उनले भने, ‘तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए ।


क्लिकमान्डु