नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गरेका तामाङलाई बागमति प्रदेश सरकारले डेढ लाखसहित सम्मान गर्ने



काठमाडौं । ललितपुर महानगरपालिकको नख्खु खोलाले बगाएका दुई जनाको सकुशल उद्धार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्धार गरेका थिए । खोलाले बगाएर झन्डै ५ सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी दिए ।

विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको बताए । तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए ।

प्रदेशका १३ वटै जिल्लामा उच्च सतर्कता

यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालिन उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताएका छन् ।

विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै मुख्यमन्त्री लामाले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

तत्कालिन राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रवन्ध गरिएको बताउँदै मुख्यमन्त्री लामाले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने जानकारी दिए ।

बाढी र पहिरोका कारण क्षति भएका राजमार्ग र ग्रामिण सडक दशें अघि नै सुचारु हुनेगरी काम शुरु भइसकेको पनि मुख्यमन्त्री लामाले जानकारी दिए ।

प्रदेश भित्रका सबै जिल्लाका सडकहरुको अवस्थाबारे तथ्यांक संकलन भइरहेको र दशैं अघिनै सवारी सञ्चालन हुनेगरी निर्माण थाल्न सरकारले विशेष रणनीति बनाएको मुख्यमन्त्री लामाले जानकारी दिए ।


क्लिकमान्डु